News 24 Television
सहकारी प्राधिकरण स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्राधिकरण स्थापना गर्ने घोषणा गरेका छन् । 

सहकारी केन्द्र नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले विद्यमान संरचनाभित्रबाट सहकारीमा देखिएका समस्या समाधान गर्न नसकिने निष्कर्ष सुनाउँदै सो प्राधिकरण बनाएर अघि बढ्ने बताएका हुन् । उनले सो प्राधिकरण गठन प्रक्रिया केही समयभित्रै शुरु हुने जानकारी समेत दिए । 

सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेर सहकारी समस्या समाधानका लागि विद्यमान संरचनाबाट सम्भव नहुने निष्कर्षमा पुगेपछि त्यससम्बन्धी बोर्ड, विभाग सबैलाई केन्द्रीकृत र एकीकृत गरेर सो प्राधिकरण बनाउने तयारी गरिएको प्रधानमन्त्री दाहालको भनाइ थियो । 

त्यस अवसरमा उनले आफ्नै पार्टीभित्र पनि सहकारी समस्या देखिएको आफू पनि त्यसको पीडामा परेको गुनासो गरे । सहकारीलाई त्यसको मुलभूत सिद्धान्त, मूल्य, मान्यताभन्दा बाहिर गएर पूँजीवादी बैंकजस्तो बनाएर नाफा कमाउने र जनतालाई कुनै न कुनै तरिकाले भ्रमित गरेर शोषण गर्ने माध्यमजस्तो बनाइसकेपछि विकृति त देखा पर्नु अपरिहार्य रहेको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले त्यसको पीडाबाट नागरिकलाई मुक्त गराउन सरकारले प्रयास गरिरहेको बताउनु भयो ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update