ललितपुर । ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ भन्ने नारासहित नगरवासीका गुनासो, सुझाव र समस्या तत्काल सम्बोधन गर्ने भएको छ ।
बिहीवार ललितपुरमा एक कार्यक्रमबीच महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियानको शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा बोल्दै नगरप्रमुख चिरिबाबु महर्जनले घरघरमा नगरप्रहरी अभियानका बहुआयामिक फाइदा रहेको बताए । उनले यस अभियानले जनप्रतिनिधिहरु चुनावको निमित्त भोट माग्न मात्रै घरमा पुग्ने र त्यसपछि हराउने भन्ने जनताको गुनासो सम्बोधन हुने बताए ।
नागरिकहरुले दुःखका कुराहरु नगरप्रहरीमार्फत जनप्रतिनिधिहरुलाई सुनाउनसक्ने उनको भनाइ छ । उनले नगर प्रहरीको उदाहरणीय कदमले नगरवासीको महानगर प्रतिको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
‘घरघरमा नगरप्रहरी भन्नासाथ यसका बहुआयामिक फाइदा छन् । धेरै आयामहरु छन्,’ उनले भने, ‘त्यसमध्येमा पनि हामी जनप्रतिनिधिहरु चुनावको निमित्त घरमाभोट माग्न आउने त्यसपछि हराउने भन्ने आरोप पनि हराउनेछ । भेटेर सुखदुःखका कुराहरु भन्न भन्न नपाउँदै गर्दा नगरप्रहरीसँग समन्वय गरेर ति कुराहरु उहाँहरुले व्यक्त गर्न सक्नुहुनेछ । यो विषयमा प्रत्येक हप्ता म ब्रिफिङ लिनेछु ।’