News 24 Television
मेलम्चीमा विकासको गलत अभ्यास, त्रासमा स्थानीय, क्षतिपूर्ति पाउने कहिले ?

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाका कारण बाढीको त्रासमा बाँच्नुपरेको भन्दै स्थानीयहरु आन्दोलित छन् । सरकारले मेलम्ची आसपासका जनताको विपदजन्य सुरक्षा र राहतका लागि छुट्टै बजेट व्यवस्था गर्नुपर्ने र उनीहरुका समस्याप्रति ध्यान दिनुपर्ने माग उठेको छ । वर्षा याममा आवतजावत गर्न कठिन हुने, बालबालिकामा बाढीको मनोत्रास रहेको र शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा बारम्बार प्रदेश र संघ सरकारसामु राखे पनि सरकारले बेवास्ता गरिरहेको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालको भनाइ छ ।

उपाध्यक्ष लम्सालले हेलम्बु-मेलम्चीवासीका माग पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने चेतावनी दिएकी छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाउँदैमा अब मेलम्चीको पानी नपाउने बताइन् । सरकारले बारम्बार स्थानीयवासीका मागहरु बेवास्ता गरेकोले ती माग पूरा नगरेसम्म पानी नपठाउने उनको भनाइ छ । बजेटमा सरकारले हेलम्बु–मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने र विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको उनको भनाइ छ । 

मेलम्ची क्षेत्र विपदजन्य जोखिममा रहेकाले त्यहाँका बासिन्दाको माग सम्बोधन गर्नुपर्ने विज्ञहरुको मत छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य समेत रहेका विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले हेलम्बु–मेलम्चीवासीका जायज मागहरु सरकारले पूरा गर्न नसकेको बताए । उनले त्यहाँका स्थानीयलाई जोखिमपूर्ण स्थानहरुबाट सारेर व्यवस्थित बनाउनका लागि दिने भनिएको रकम पनि सरकारले दिन नसकेको बताए । आफूहरुले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप– २८ मा हेलम्बु–मेलम्चीको कुरा ज्वलन्त ढंगले उठाएको समेत उनको दाबी छ ।

यता, पूर्व–प्रधानन्यायाधीश कल्याण श्रेष्ठले विकासको नाममा जलवायु प्रतिकुल संरचना बनाएपछि सरकारले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । वातावरण विनाश र त्यसले निम्त्याउन सक्ने जलवायुजन्य विपद्काबारे सजग र शतर्क नहुने हो भने भविष्यमा हाम्रो विकासले विपद् निम्त्याउने उनको चेतावनी छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनातर्फ इंगित गर्दै उनले परिणाम निकाल्न नसक्नेहरुसँग वातावरण विनास गरेबापतको क्षतिपूर्ति माग्नुपर्ने दाबी गरे । मेलम्ची खानेपानी आयोजनामा विकासको गलत अभ्यास गरिएकाले जति पैसा खन्याए पनि त्यहाँको पानी काठमाडौँ आउन नसकेको उनको भनाइ छ ।

बुधवार विश्व वातावरण दिवस नेपालमा पनि धुमधामका साथ मनाइएको छ । तर दिगो र वातावरणमैत्री विकासका लागि केन्द्रदेखि स्थानीय तहसम्मका सरकार गम्भीर देखिँदैनन् । विकासका नाउँमा भइरहेका विनाश प्रवृत्ति, वातावरण प्रदुषण नरोक्ने हो भने समस्या झनै बढ्ने विज्ञहरुको चिन्ता छ । २०७८ असार र साउनमा भारी वर्षासँगै मेलम्ची र इन्द्रावती नदीमा विनाशकारी बाढी आएको थियो । बाढीका कारण केही मानिसको मृत्यु हुनुका साथै दर्जनौँ घर र भौतिक संरचना बगेका थिए । करिब ३० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको उक्त बाढीका कारण मेलम्ची खानेपानी आयोजना स्थल समेत तहसनहस भएको थियो । जसको पुनर्निर्माण गरेर २ वर्षपछि बल्ल काठमाडौँसम्म पानी ल्याउन सकिने बनाइएको छ । तर फेरि वर्षायाममा जोखिम कायमै छ ।

सिन्धुपाल्चोक उसै पनि बाढी र पहिरोको उच्च जोखिमयुक्त जिल्लामा पर्छ । २०७३ सालमा भोटेकोसी र सुनकोसीमा आएको बाढी तथा २०७१ सालमा आएको पहिरोको कारण सयौँ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोकको भूगोल नै कमजोर रहेको र बस्ती समेत गलत ठाउँमा बसेका कारण बाढी–पहिरोको उच्च जोखिम रहेको भुगर्भविद्हरु बताउँछन् । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update