काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) पछिल्लो समय सत्तारुढ नेकपा एमालेप्रति आक्रामक बन्दै गएका छन् । महानगरले न्युरोडमा सडक खनेर फुटपाथ विस्तार गर्न खोज्दा सडक विभागले रोकिदिएपछि बालेन एमाले नेतृत्वमाथि खनिएका हुन् । सडक विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तरगत पर्छ, जहाँ एमालेका सचिव रघुवीर महासेठ भौतिक पूर्वाधार मन्त्री छन् । विवाद सडक विभाग र महानगरबीचको भए पनि सतहमा एमाले र मेयर बालेनबीच द्वन्द्व सृजना भएको छ । यो द्वन्द्व सडकदेखि सदनसम्म पुगेको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले मेयर बालेनलाई एमालेविरुद्ध उत्तेजक अभिव्यक्ति नदिन चेतावनी दिएका छन् । मंगलवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले मेयर बालेनलाई संयमता नगुमाउन आग्रह समेत गरे । दुई वर्षअघि काठमाडौँ महानगरको मेयरमा निर्वाचित भएपछि बालेन एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । त्यसबेला मेयर साहलाई ओलीले तबला उपहार दिँदै बधाई र शुभकामना दिएका थिए । त्यसअघि पनि बालेन बालकोट गएर ओलीलाई भेट्ने गर्थे । तर पछिल्लो समय यी दुईबीच टकराव उत्पन्न भएको छ । तबला उपहार दिएको प्रसंग उप्काउँदै सांसद भट्टराईले ओलीले दिएको तबला करुणा, प्रेम, सद्भाव र संयमता कायम गर्नका लागि थियो भनेका छन् । तर पनि महानगर प्रमुखले संयमता गुमाउँदै ओलीविरुद्ध खिसिट्यरी गरेर अभिव्यक्ति दिनु आपत्तिजनक रहेको भट्टराईले बताए ।
मेयर साहलाई आफू देशकै ठूलो महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न भट्टराईले चेतावनी दिएका छन् । संविधानले नै हरेक व्यक्तिको सीमा र अधिकार तोकेको बताउँदै उनले काठमाडौं महानगरपालिका र सडक विभागबीच मतभेदहरु उत्पन्न हुँदा दोषचाहिँ एमाले र ओलीले बोक्नुपर्ने किन भन्दै प्रश्न गरे । काठमाडौं महानगर मुलुकको राजधानी भएकाले महानगरपालिकाका जनप्रतिनिधिले नेपालको सभ्यताको प्रतिनिधित्व गर्ने भट्टराईको भनाइ छ । २०५४ सालमा एमालले महानगरपालिकाको निर्वाचन जितेपछि काठमाडौंलाई सभ्य शहर सफा शहर बनाउने र वैकल्पिक बाटोहरु खोल्नका निम्ति वागमती, विष्णुमती, मनोहरा करिडोर बनाएको स्मरण समेत गराएका छन् । एमालले महानगरको नेतृत्व गर्दा भूकम्पपछिको निर्माणमा उल्लेख्य भुमिका खेलेको, रानीपोखरी, कमलपोखरी, दरबार हाइ स्कुल, काठमाडौं दरबार स्क्वायर पुनर्निर्माण एमालेले गरेको भन्दै उनले बालेनलाई सहयोग गर्न एमाले तयार रहेको समेत बताए ।
बालेनले पुराना दलका नेताहरू जेल बसेको कुरालाई खिसिट्युरी गर्दै उडाएकोमा सांसद भट्टराईले आपत्ति जनाए । उनले देशमा यो व्यवस्था ल्याउनका लागि मरिमेटेका नेता र एमालेको नेतृत्वमाथि गालीगलौज गर्नु भनेको आफैँ आकाशतिर फर्किएर थुक्नुजस्तो भएको बताए । आकाशतिर थुक्दा आफ्नै मुखमा थुक पर्ने भएकाले बालेनलाई त्यसो नगर्न उनले आग्रह गरे ।
सोमबार मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीमाथि खनिएका थिए । ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला माननीय केपी ओलीज्यू, फेरि जेल बस्नुपर्ला’ भन्दै बालेनले गिरिबन्धु टि–स्टेटको जग्गाकाण्डको कुरा उप्काएका थिए । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर ओलीले थुमथुम्याएको बालेनको आरोप छ । उक्त जग्गामा नीतिगत घोटला गर्न ओलीको हात रहेको भन्दै आफ्ना कर्तुत लुकाउन र विषयान्तर गर्न न्युरोडको सडकमा तमासा गरेको बालेनले बताएका थिए । साथै एमाले र ओलीको शक्तिले अब रिङरोड बनाउन, बुटवल–चितवन बाटो बनाउन र यस्ता धेरै आयोजनामा लगाउन समेत बालेनले आग्रह गरेका थिए । उनले ओलीलाई विगतमा जेल बसेकै हो, फेरि बस्नुपर्ला भन्ने आशय दिएर उडाएका थिए ।