News 24 Television
निम्सदाइका कर्तुत : पर्वतीय पर्यटनमा महिला असुरक्षित 

काठमाडौँ । महिला हिंसाको ग्राफ बढिरहेको बेला फेरि अर्को एउटा घटना बाहिरिएको छ । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा अर्थात् निम्सदाइले पर्वतारोही महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप विश्वभर फैलिएको छ । महिलामाथिको बलात्कारको घटनामा कलाकारदेखि खेलाडीहरुसमेत नजोडिएका होइनन् । अहिले फेरि समाजले आदर्श मानेका व्यक्तिबाट यौन दुर्व्यवहार भएको घटना बाहिरिएसँगै समग्र पर्यटन क्षेत्रमाथि महिलाको सुरक्षाको प्रश्न उठेको छ । 

गत शुक्रबार अमेरिकाको चर्चित राष्ट्रिय दैनिक ‘द न्यूओर्क टाइम्स’मा ‘महिला पर्वतारोहीहरूका लागि हिमपहिरो र आँधीबेहरीभन्दा अन्य खतरा’ शीर्षकमा समाचार प्रकाशन भएको थियो । जहाँ समग्रमा महिलाहरूलाई पर्वतारोहणमा असुरक्षा भएको विषयको उठान गरिएको छ । महिलामाथिको यौन दुर्व्यवहार र त्यसमा पनि कीर्तिमानी पर्वतारोही निम्सदाइ अर्थात निर्मल पुर्जा जोडिएपछि समग्र पर्यटन क्षेत्र नै संशकित बनेको छ । 

देशको अर्थतन्त्रमा पर्यटनले सबैभन्दा बढी योगदान पुर्याइरहेको अवस्थामा अब नेपालको पर्वतारोहणलगायत पर्यटन क्षेत्रलाई महिला कति सुरक्षित छन् भन्ने प्रश्न खडा गरिदिएको छ । विश्वले नै आदर्श मानेको व्यक्ति यौन दुर्व्यवहार जस्तो फौजदारी अभियोगमा मुछिनुलाई पर्वतारोहण व्यवसायीहरूले दुखद भनेका छन् । पर्वतारोही निम्सदाईमाथि लागेको आरोप पुष्टि भइसकेको छैन । तर पनि महिलाको सुरक्षामा पर्वतारोहण व्यवसाय कति संवेदनशील छ भन्ने प्रश्न खडा गरेको छ । यसले पर्वतारोहण क्षेत्रमा महिलामाथि यौन उत्पीडन र दुर्व्यवहारलाई उजागर गरेको छ । 

पर्वतारोही र पूर्व मिस फिनल्याण्ड लोट्टा हिन्ट्सा र डा. अप्रिल लियोनार्डोले पुर्जाले गरेको व्यवहार अप्रिय भएको बताएका छन् । पछिल्ला वर्षहरूमा फराकिला बन्दै गएको आरोहण क्षेत्रमा विशेष गरी महिलाहरूका लागि नदेखिने जोखिमहरूको सामना गर्नुपर्ने उनीहरूले स्वीकार गरेका छन् । यो विषयले नेपाल महिलाका लागि खतरा छ भन्ने भाष्य निर्माण गर्ने त्रास एकातर्फ छ भने आदर्श मानिएका व्यक्ति नै यौन दुर्व्यवहारमा जोडिनुले मुलुकको साख गिराएको छ । तर, सेलिब्रेटीको जति नै गम्भीर अपराधमा मुछिए पनि समाजको स्वीकार्यता र ‘हिरोइजम’ गर्ने प्रवित्तिले झन् डरलाग्दो संकेत गरिरहेको महिला अधिकारकर्मीहरुको भनाई छ ।  

हुनतः पुर्जाले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको खण्डन गर्दै आरोप लगाउने महिलाहरूविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् । त्यस्तै, आरोहणका लागि टाँगिएको डोरी काटिएको भन्दै पुर्जाले जारी गरेको भिडियो सन्देशको पनि  पर्वतीय पर्यटन बदनाम गराउने उद्देश्य राखेको भन्दै आलोचना भैरहेको छ । यी दुबै विषयमा थप अनुसन्धान हुने नै छ । तर, महिलाका लागि जुनसुकै दृष्टिकोणले नेपाल सुरक्षित छ भन्ने प्रत्याभूति राज्यले दिलाउनु पर्ने जरुरी छ । 

 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update