News 24 Television
छोटो दूरीको मनै लोभ्याउने फेवा पदमार्ग 

कास्की । कुनै समय पदमार्गहरु हिमाली क्षेत्रमा मात्रै हुन्छन् र त्यसमा यात्रा गर्न विदेशी पर्यटक मात्रै आउछन् भन्ने आम विश्वास थियो । तर पछिल्लो समय ट्रेकिङ रुट मासिदै जान थालेको छ । तर नेपालीहरुमा ट्रेकिङ जाने चलन उत्साहजनकरुपमा बढिरहेको छ । यसैबीच लामो दुरीको पैदल यात्रामा निस्कन नसक्नेहरुका लागि भन्दै पोखरामा ‘भ्यु फेवा, राउण्ड फेवा’ सुरु गरिएको छ । 

सामान्यतया पदमार्ग भन्ने वित्तीकै उच्च पहाडी भेग र हिमाली क्षेत्रलाई सम्झिने चलन छ । त्यस्ता पदमार्गमा यात्रा गर्न खर्च बढी लाग्ने, समय बढी छुट्टाउनु पर्ने जस्ता बाध्यताहरु छन् । यिनै बाध्यतालाई चिर्न पोखराको फेवाताल पारी रहेको रानीबनमा पदमार्ग निर्माण गरिएको छ । राउण्ड फेवा, भ्यु फेवाको सर्किट नाम दिइएको यो पदमार्ग पोखरा महानगरपालिकाको २२ नं. वडामा पर्ने अनदुँदेखि पोखरा १७ को ड्यामसाइड सम्म पर्दछ । 

५ किलोमिटर लामो यो पदमार्गको यात्रा गर्न दुईदेखि साढे दुई घण्टा लाग्छ । फेवातालको किनारै किनार, जंगलको यात्रा अनि चराचुरुङ्गीको चिरबिर, लाग्छ प्रकृतिक आनन्द यहि नै हो । यो पदमार्गको निर्माणसँगै पोखरामा पर्यटकीय आकर्षण थपिएको र यसले पर्यटकको बसाई लम्बिने व्यवसायी बताउँछन् ।  

पोखरामा रहेका पर्यटन सम्बन्धी संघ संस्थाको आग्रहमा गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यो पदमार्गको निर्माण गरेको हो । ५५ लाख ३१ हजार लागत अनुमान गरिएकोमा यो योजनामा मन्त्रालयको ५० लाख र जनसहभागितामार्फत ५ लाख ३१ हजार रुपैयाँ लगानी भएको छ । यहि पदमार्गको प्रवद्र्धन गर्न भन्दै टान गण्डकीले सोमबार ‘राउण्ड फेवा, भ्यु फेवा’ कार्यक्रम आयोजना ग¥यो । 

कार्यक्रममा स्वदेशी तथा विदेशी पर्यटक सहित थुप्रै पर्यटन व्यवसायीले सहभागिता जनाएका थिए । पदमार्गको पैदल यात्राका लागि उच्च पहाडी भेग र हिमाली क्षेत्रमै जानुपर्छ भन्ने बाध्यता यो पदमार्गले हटाउने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । 

पछिल्लो समय पोखरामा पनि शहरी कोलाहल बढ्दो छ । तर त्यही कोलाहलका बीच पनि फेवातालमाथी निर्माण गरिएको यो पदमार्गमा यात्रा गर्दा सहरी कोलाहल एकैछिनमा बिर्साइदिन्छ । त्यस्तै स्वस्थ रहन दिनमा एक–दुई घण्टा पैदल यात्रा गर्नुपर्ने चिकित्सकहरु सुझाउँछन् । त्यसको लागि पनि यो पदमार्ग एउटा उत्तम विकल्प बनेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update