काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि सडक काटेपछि सडक विभाग र महानगरबीच केही दिनयता टसल जारी छ । महानगरले सडक विभागबाट अनुमति नै नलिई सडक काटेको भन्दै विभागले हस्तक्षेप गरेपछि महागर र केन्द्र सरकार अन्तर्गतको सडक विभाग आमने–सामने भएका हुन् । सडक विभाग अन्तर्गतको सडक डिभिजन काठमाडौँले सोमवार विहानै न्यूरोडमा महानगरले काटेको सडक कालोपत्रे गरेपछि स्थिति तनावपूर्ण बन्यो ।
जेठ १२ गते चक्रपथ विस्तारको काम ढिलासुस्ती भएको भन्दै काठमाडौँ महागनरले मेयर बालेन शाहको निर्देशनमा सडक डिभिजन कार्यालय र सडक विभागको गेटमा एक ट्रक धुलो र फोहोर फालेको थियो । सडक विभागमाथि आक्रोश ब्यक्त गर्दै बालेनले फेसबुकमा स्टाटस समेत लेखेका थिए । बालेनको स्टाटसको प्रत्यूत्तरमा सडक डिभिजन कार्यालयले विज्ञप्ति जारी गर्दै न्यूरोडमा महानगरबाट गर्न खोजिएको निर्माणका कारण विवाद उत्पन्न भएको प्रष्टीकरण दिएको थियो ।
त्यस्तै सडक डिभिजन कार्यालयले जुद्ध शालिक–इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पूनस्थापना गर्न महानगरलाई पत्राचार गरेको थियो । भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी पनि डिभिजन कार्यालयले दिएको थियो । तर महानगरलाई पटकपटक ताकेता गर्दा पनि नमानेपछि सोमवार विहानै सडक डिभिजनको टोलीले आफै कालोपत्रे गरेको थियो । सडक कालोपत्रे गर्न थालेपछि महानगर प्रहरी पुगेर अवरोध गरेका थिए । केहीबेर दुवै पक्षबीच विवाद समेत भएको थियो । तनावको स्थिति सिर्जना भएपछि नेपाल प्रहरी पनि परिचालन गरिएको थियो । तर विवादकै बीच महानगरले काटेको सबै सडक पीच गरिएको छ ।
महानगर प्रहरीले अवरोध गरेपछि न्यूरोडका बासिन्दाले महानगर प्रहरीविरूद्ध नाराबाजी पनि गरेका थिए । महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक डिभिजनले कालोपत्र गर्न लागेपछि तनावको स्थिति सिर्जना भएको स्थानीयको भनाइ छ । महानगर नेतृत्वले घमण्ड देखाउँदै सडक काट्ने काम गरेको स्थानीयको आरोप छ ।
महानगरका प्रहरीहरू न्यूरोडबाट फर्केपछि सडक डिभिजनले कालोपत्रका कामलाई निरन्तरता दिएको थियो ।
बालेनको योजना
न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने मेयर बालेनको योजना रहेको छ । सोही अनुसार महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ विस्तार गर्न काम अगाडि बढाएको हो । सर्वसाधारणका लागि आवतजावतमा सहज होस् भनेर न्यूरोड क्षेत्रको फुटपाथ विस्तार र स्तरोन्नतिको काम अगाडि बढाएको महानगरको दावी छ ।
न्यूरोड क्षेत्रमा अहिले रहेको ११ मिटर लम्बाइको सडकमा दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ । तर यो फुटपाथ साढे एक मिटर बढाएर स्तरोन्नति गर्न महानगर चाहन्छ । महानगरले तयार पारेको डिपिआर अनुसार ११ मिटर लम्बाइ रहेको कालोपत्रे सडकलाई ७ मीटरको बनाइनेछ । भने दुवैतिर डेढ मिटर थप गरी ३.९ मिटरको फुटपाथ निर्माण गर्ने योजना महानगरको छ ।
महानगरले पहिलो चरणमा न्यूरोड गेट हुँदै धर्मपथको बाटोसम्म फुटपाथ विस्तार गर्ने र पछि न्यूरोडबाट प्यूखा, सुन्धारा र विशालबजार जाने बाटोमा समेत फुटपाथ विस्तार गर्ने योजना बनाएको छ ।