काठमाडौं । तेस्रो पटक सत्ताको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले आफ्नो कार्यकालको १८औँ महिनामा छन् ।
सुरुमा काँग्रेसँग नै गठबन्धन गरेर चुनावमा होमिएका प्रचण्ड पछि एमालेको सहयोगमा प्रधानमन्त्री बने । प्रचण्डको नेतृत्वमा सरकार बनेपछि राष्ट्रपति निर्वाचनमा माओवादीले काँग्रेसलाई सहयोग गर्ने पक्का भयो । त्यसपछि एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लियो । यद्यपि पछि फेरि काँग्रेसँग सहकार्य टुटाएका प्रधानमन्त्री प्रचण्डले एमालेसँगै गठबन्धन गरेर नयाँ सरकार बनाए । हाल पनि एमालेकै मुख्य आडमा सरकार संचालन भइरहेको छ ।
यसरी प्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दा उनले ४ पटक विश्वासको मत लिइसकेका छन् । एमाले र माओवादी दुवै तर्फका नेताहरुले यो सरकार संसदको पूरा कार्यकालभरी टिक्ने दावी गर्दै आइरहेका छन् । प्रचण्ड नेतृत्वको सरकार टिकाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भरपुर सहयोग गर्दै आइरहेका छन् ।
उनले अन्य साना दलहरुसमेत बटुलेर सरकार टिकाउन प्रधानमन्त्रीलाई सहयोग गरिरहेका पनि छन् । यही अवस्थामा प्रधानमन्त्री प्रचण्डले पछिल्लो पटक बजेट प्रस्तुत हुँनुभन्दा केही दिन अघि विश्वासको मत लिएका थिए ।
जसमा एमालेको सहयोगसहित प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरे । यसको केही दिन लगत्तै गत मंगलबार संसदबाट बजेट प्रस्तुत गरिएको थियो । तत्काल टिप्पणी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विनियोजित बजेटलाई असन्तुलित भनेको थियो ।
सरकारले महत्वकांक्षा बोकेर केही ठूलो आकारको बजेट ल्याएको काँग्रेसको आरोप थियो । त्यस्तै कतिपयले बजेट समर्थक र दल केन्द्रीत मात्रै भएको भनेका थिए । तर यसमा सत्तारुढ नेकपा एमालेसहितका अन्य दलहरुले भने बजेटप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए ।
तर संसदबाट प्रस्तुत भइसकेको बजेटको विषयलाई लिएर सत्तारुढ सबैभन्दा ठूलो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने केही दिनपछि असन्तुष्टि जनाएका छन् ।
विनियोजन भइसकेको ४ दिनपछि शनिबार अध्यक्ष ओलीले सरकारले सत्तारुढ दलहरुसँग कुनैपछि छलफल नगरी बजेट ल्याएको आरोप लगाएका हुन् । अध्यक्ष ओलीले बजेटमाथि त्रुटि औँल्याउँदै अर्थमन्त्री र माओवादी केन्द्र पार्टीप्रति मात्रै ढल्किएको टिप्पणी गरेका हुन् ।
ओलीको यो अभिव्यक्तिले बदलिँदो राजनीति र विशेष अवस्थामा बनेको सत्ता गठबन्धन भित्रका दलहरुबीच असमझदारीको संकेत गरेको छ ।
नयाँ गठबन्धन बन्दै गर्दा वर्तमान सरकारले पूरै कार्याकाल टिक्ने दावी गरिएको थियो । यसप्रति दलहरु प्रतिबद्धसमेत रहेको बताइँदै आएको छ । तर ओलीले शनिबार बजेटप्रति असन्तुष्टि जनाउँदै सरकार र अर्थमन्त्रीप्रति रोष प्रकट गरेका हुन् ।
सत्ता गठबन्धनमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगायतका घटक दलहरु दायाँबायाँ गर्न खोजिरहेका बेला ओलीको यो बोलीले प्रधानमन्त्री प्रचण्डमाथि भने थप दबाब बढेको छ ।
पछिल्लो समय सत्तारुढ दलहरुमा अस्थिरताको दृष्य देखिरहँदा सत्तारुढ सबैभन्दा ठूलो दल एमालेको पूर्ण समर्थन नहुनु प्रधानमन्त्री चरस अफ्ठ्यारोमा पर्नु हो । नेकपा एकीकृत समाजवादीले पनि प्रचण्ड सरकारको विकल्प खोज्दै नेपाली काँग्रेससँग साँठगाँठ गरिरहेको छ । यद्यपि यस विषयमा ओली र प्रचण्डले माधवलाई फकाउने प्रयत्न गरिरहेका छन् ।
काँग्रेसले वैकल्पिक सरकार गठनमा सहयोग मागिरहँदा आफूलाई प्रदेश सरकारहरुमा निर्णायक देखेको नेकपा एस केही हौसिएको छ । जसका कारण प्रधानमन्त्री प्रचण्ड थप अफ्ठ्यारोमा छन् ।
यहीबीचमा एमाले अध्यक्ष ओलीले पनि सरकार र बजेटप्रति नकारात्मक टिप्पणी गर्न थालेपछि प्रधानमन्त्री प्रचण्ड अझ अफ्ठ्यारोमा पर्दै गएका हुन् ।
यसले पछिल्लो गठबन्धन निर्माण हुँदै गर्दा गहिरिएको प्रचण्ड–ओली सम्बन्धमा केही खाडल ल्याउने संकेत गरेको छ । तर ओली प्रचण्डबीच लामै सहकार्यका लागि समझदारी भएका कारण यी र यस्ता टिप्पणीले गठबन्धमा कुनै प्रभाव नपर्ने कतिपय पक्षले टिप्पणी गरिरहेका छन् ।