News 24 Television
टी-२० विश्वकपका लागि नेपाली टोली तयार

काठमाडाैँ । लामो समयको प्रतिक्षापछि नेपालसमेत सहभागी हुन लागेको आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि शुरु हुँदैछ । विश्वकपको तयारीका लागि केही दिनअघि नै अमेरिका पुगेको नेपाली टोलीले अभ्यास खेल खेलिरहेको छ । झण्डै एक लाख नेपालीहरु बसोबास गरेको डालसमा हुन लागेको खेलमा नेपाली टिमलाई ठूलो उत्साह मिल्ने अपेक्षा छ । नेपाल र नेदरल्याण्डस्बीच मंगलबार हुने खेलको सबै टिकटसमेत विक्री भइसकेको छ ।  

आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता आइतबारदेखि अमेरिकाको डालसमा शुरु हुँदैछ । विश्वकप खेलका नेपाली टोली यसअघि नै अमेरिका पुगेर अभ्यास खेल खेलिरहेको छ । अभ्यास खेल खेलेर हौसिएको नेपाली टिमले टेस्ट मान्यता प्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिन चाहिरहेको छ । अभ्यास खेलकै क्रममा ठूलो संख्यामा उपस्थित नेपाली दर्शकहरुका लागि पनि टोलीलाई अझ उत्साहित बनाएको छ । करिव २५ दिनेदेखि नेपाली टोलीले वेस्टइण्डिज र अमेरिकामा अभ्यास गरिरहेको छ । विश्वकपको तयारीमा रहेको नेपाली टिमले उत्कृष्ट खेल खेलेर खुशी दिने प्रतिक्रिया दिएका छन् । 

पछिल्लो समय क्रिकेटबाट निकै उत्साह भर्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि नेपाल विश्वकप खेल्न तयार रहेको बताएका छन् । यस पटक अमेरिका र वेस्ट इण्डिजमा खेल हुने भएकाले सो स्थानहरुको वातावरणमा भिज्न र अभ्यास गर्न नेपाल एक महिना अगाडि नै विश्वकप आयोजना हुने देशमा पुगेको र अभ्यास जारी राखेको हो । नेपाललाई ब्याटिङ र बलिङमा उत्कृष्टता आवश्यक रहेको भन्दै प्रशिक्षक देशाईले स्पिनरमा ललित र सागरले जिम्मेवारी सम्हाल्ने बताएका छन् । 

प्रशिक्षक देशाईका अनुसार नेपाली टिममा दीपेन्द्र सिंह ऐरी सबै किसिमले फिट छ । नेपाली टिममा सबै किसिमले ब्यालेन्स मिलेको उनको भनाई छ । आइतबार जुन २ बाट शुरु हुन लागेको विश्वकपको तेस्रो दिन मंगलबार मात्रै नेपालले पहिलो खेल नेदरल्याण्डस्सँग खेल्दैछ । विश्वकप शुरु हुनुअघि बलात्कार मुद्दामा सफाइ पाएका सन्दिप लामिछानेलाई पनि विश्वपकमा लैजाने क्यानले हतारहतार निलम्बन फुकुवा गरेको थियो । सन्दिपको उपस्थितिले खेल अझ प्रभावकारी हुने खेलप्रेमीहरुको अपेक्षा रहे पनि उनले अमेरिकाको भिसा पाएनन् । यद्यपि सन्दीप बिना पनि नेपाली टिमले प्रशंसायोग्य खेल खेल्न नयाँ इतिहास रच्ने अपेक्षा आम नेपालीको छ । 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update