काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा देखिएका कमीकमजोरीमा नेकपा एमालेले आलोचनात्मक टिप्पणी गर्ने भएको छ ।
सत्तारुढ दलहरुसँग छलफल नै नगरी ल्याइएको बजेट अर्थमन्त्रीको हो कि अर्थमन्त्री भएको पार्टीको हो भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले रोष प्रकट गरेका छन् । यद्यपी बजेटमा असन्तुष्टि रहेपनि बजेटलाई समर्थन र पारित गरेर जाने नीति एमालेको रहेको ओलीले प्रष्ट पारेका छन् ।
सत्ता गठबन्धनभित्रैको मुख्य दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि ल्याएको १८ खर्ब माथिको बजेट सत्तारुढ दलहरुसँग छलफल नै नगरि ल्याएको अध्यक्ष ओलीको आरोप छ ।
शनिवार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा माओवादी केन्दप्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरेका हुन् ।
बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको भन्दै उनले बजेट निर्माण प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको दाबी गरेका छन् ।
बजेटले समाजवाद निर्माणका आधारहरु, नीति, कार्यक्रम, योजनाहरु र ती कुराहरुलाई समेट्न नसकेको ओलीको टिप्पणी छ । त्यसैले पनि बजेटको थप अध्ययन गरेर बजेटले समातेको सैद्धान्तिक दिशा र मन्त्रालयहरुमा गरिएको विनियोजन र थपिएका नयाँ कार्यक्रमहरु प्रति एमालेले खुलेर छलफल गर्न चाहेको ओलीले उल्लेख गरेका छन् ।
बजेटका विषयमा असन्तुष्टि रहेपनि सत्ता गठबन्धनभित्रै रहेका कारण एमालेले बजेटलाई आलोचनात्मक समर्थन गर्दै पारित गर्ने अध्यक्षले ओलीले स्पष्ट पारे । संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेटमा समर्थन गरेर अघि बढ्न पनि पार्टीका सांंसदहरुलाई निर्देशन दिएका छन् ।