News 24 Television
२३ वर्षसम्म रहस्यमय बन्यो दरबार हत्याकाण्ड

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २३ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । सो हत्याकाण्डलाई राजनीतिक दलका नेताहरुले आफ्नै किसिमले व्याख्या गर्ने गरेका छन् ।

अधिकांश राजनीतिक दलका नेताहरु दरबार हत्याकाण्डलाई गम्भीर षड्यन्त्र भनिरहेका तर आफू सत्तामा रहेकाबेला छानबिन गर्न भने हिच्किचाइरहेका छन् । 

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको नारायणहिटी दरबारभित्र एकसाथ हत्या गरिएको थियो ।

त्यसैले २०५८ साल जेठ १९ गते भएको यो घटनालाई नारायण दरबार हत्याकाण्डले चिनिन्छ । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर राणा र केतकी चेस्टर घाइते भएका थिए । तर, घटना अहिलेसम्म पनि रहस्यमय नै छ । हत्याकाण्ड लगत्तै दरबारकै निगाहमा बनेको छानबिन समितिले युवराज दीपेन्द्रबाट हत्या भई आफूले आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरी औपचारिकता निभायो । 

दीपेन्द्रले “आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोंक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेको“ विवरण सार्वजनिक गरेको थियो । तर यसले आम स्वीकार्यता पाउन सकेको छैन । 

दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गरिन्छ । 

किनकी २०६२÷६३ को जनआन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र साह उक्त हत्याकाण्डको दोषी रहेको भन्दै नारा घन्किएको थियो । दरबार हत्याकाण्डलाई राजनीतिक दलहरूले आफ्नो अनुकुलतामा ब्याख्या गर्ने गरेका छन् । 

विशेषगरि पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएका बेला दरबार हत्याकाण्डको बढि चर्चा हुने गरेको छ । दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले २२ वर्षसम्म मुख खोलेनन् । तर केही महिनाअघि मात्रै नागरिक अभिनन्दनका क्रममा वीरगञ्ज पुगेका बेला उनले आफू र आफ्नो परिवार निर्दोष रहेको अभिब्यक्ति दिएका थिए । राजनीतिक जालझेल गरि धेरैको मनमा भ्रमको बादल बनाई आफ्ना परिवार विरुद्ध नकारात्मक भावना फैलाएको भन्दै सत्य सधै सत्य हुने उनको भनाइ थियो । 

पूर्वराजा शाहको अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरु तरंगित हुँदै दरबार हत्याकाण्डबारे आआफ्ना बुझाइ र ठम्याइ सार्वजनिक रुपमा अभिव्यक्त गरे । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्या राजनीतिक दलले नगरेको दाबी गरे । तर यो हत्याकाण्ड भयानक षडयन्त्र भएको अभिब्यक्ति दिए । उनको आरोप पूर्वराजा ज्ञानेन्द्र लक्षित थियो । 

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने सावजानीक घोषणा नै गर्ने गरेका छन् । तर त्यो प्रक्रिया अघि बढेको छैन । 

२३ वर्षको अबधिमा कयौं पटक सरकार फेरबदल भए पनि कुनै पनि सरकारले दरबार हत्याकाण्ड पुनः छानबिनमा ध्यान केन्द्रीत गरेको छैन । मात्र आफ्नो अनुकुलताको व्याख्या गर्ने गरेको छ । 

दरबार हत्याकाण्ड आम नागरिकको भावनासँग पनि जोडिएकाले राजनीतिक दलको अस्त्रका रुपमा प्रयोय गरिन बन्द गरिनुपर्छ । 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update