काठमाडौं । जोर्डन क्षेत्री नेपाली मूलका ब्रिटिस नागरीक हुन् । जसले क्यान्सरलाई जितेर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका छन् ।
परिवारले समेत माया मारिसकेका जोर्डनले क्यान्सरलाई जितेर विश्वको सर्वोच्च शिखरमा पाइला टेक्न साहस कसरी जुटाए ?
जोर्डन क्षेत्री नेपाली मूलका ब्रिटिस नागरिक हुन् । १३ वर्षको उमेरमा फोक्सोमा हुने क्यान्सर नन–हज्किन लिम्फो चौथो चरणमा पुगेपछि डाक्टरले २० प्रतिशत मात्रै बाँच्ने सम्भावना भएको परिवारलाई जानकारी गराएका थिए ।
उनी अहिलेको अवस्थामा फर्किन्छन् भन्ने परिवारका सदस्यले सोचेकै थिएनन् । तर, लामो समय उपचारपछि उनले क्यान्सरलाई जिते । एक प्रकारले उनको यो पुनः जन्म नै हो भन्दा पनि फरक पर्दैन ।
अस्पतालको शैयाबाट उठेपछि उनले बुवा योगेन्द्रको अफिसमा हिमालका फोटाहरू देखे त्यसपछि उनले हिमाल चढ्ने सपना बुने ।
फोक्सोमा भएको चौथो चरणको क्यान्सर जितेर तग्रिँदै गरेको छोराले हिमाल चढ्न जान्छु भनेपछि बुवा आमाको निन्द्रा हरायो । उनीहरूले सुरुमा नजान आग्रह गरे तर काललाई जितेर फर्केको छोराको इच्छा मार्न पनि सकेनन् ।
जोर्डनले सगरमाथा र लोबुचेसहित यूके, आर्जेन्टिना र स्कटल्यान्डका गरी ३१ वटा हिमाल चढिसकेका छन् भने विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने लक्ष्य राखेका छन् ।
अस्पतालको शय्यामा क्यान्सरविरुद्ध लड्नभन्दा हिमाल चढ्न सजिलो हुने उनको तर्क छ । तर, हिमालमा जति उचाई बढ्छ त्यतिनै शरीर तातो बनाउन, हिँड्न र दिमागलाई मुखमा लगाएको अक्सिजन झिक्न हुन्न भन्ने बनाउन धेरै कठिन हुने उनी बताउँछन् ।
हिमालमा थुप्रिएर रहेको फोहोरले भने उनलाई चिन्तित बनाउने गरेको छ । त्यसो त हिमालको फोहोर देख्दा अरु आरोहीले पनि चिन्ता व्यक्त गर्ने गरेका छन् ।
उनी नेपाल आएर हिमाल चढ्न मात्रै रुचाउँदैनन्, आफू नेपाली मूलका नागरिक हुनुमा गर्व पनि गर्ने गरेका छन् । त्यसैले उनी गैरआवासीय नेपाली संघ (एनआरएनए)का दोस्रो पुस्तालाई नेपालसँग जोड्ने कर्ममा समेत लागिपरेका छन् ।