काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कान्तिपुर सहकारीका पूर्वअध्यक्ष र पशुपति सहकारीका अध्यक्ष सिबीलाई भारतीय सीमा क्षेत्रबाट शुक्रबार पक्राउ गरेको हो ।
लामा संलग्न रहेका दुवै सहकारी सरकारले हालै गठन गरेको संसदीय छानबिन समितिको दायराभित्र पनि समेटिएका छन् । के हो त सीबी लामा संलग्न सहकारीहरुको वास्तविकता ?
सहकारी विभागले कान्तिपुर बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्न गएको माघ २९ मा सिफारिस गरेको थियो ।
सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने कान्तिपुरले सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकाले विभागको सिफारिसमा मन्त्रालयले २०८० फागुन ९ गते समस्याग्रस्त घोषणा गरेको थियो ।
त्यस्तै सहकारी विभागले २९ फागुन २०७९ मा पशुपति बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो ।
यस्तै विभागले सहकारीका अध्यक्ष सीबी लामासहित सञ्चालक र व्यवस्थापकलाई पक्राउ गरी अनुसन्धान गर्न सीआईबीलाई २०८० जेठ १९ मा पत्राचार गरेको थियो ।
काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले संस्थापक सीबी लामाविरुद्ध फागुन २९, २०८०मा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
को हुन् सीबी लामा ?
– काभ्रेका सीबी लामाले कान्तिपुर सहकारी चलाइरहेकै बेला २०५५ सालमा पशुपति बचत तथा ऋण सहकारी खोलेका थिए ।
– कान्तिपुरमा आफू अध्यक्ष थिए, पशुपतिमा श्रीमतीलाई अध्यक्ष बनाएका थिए ।
– २०७४ सालमा एकै परिवारको व्यक्ति दुई सहकारीको सञ्चालक बन्न नपाउने नियम आयो ।
– त्यसपछि लामाले कान्तिपुरको अध्यक्ष छोडे र पशुपतिको अध्यक्ष भए ।
– सीबी लामा नेपाली कांग्रेस काभ्रेका नेता समेत हुन् ।
– २०७४ सालको आम निर्वाचनमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)मा काँग्रेसको तर्फबाट उम्मेदवार समेत बनेका उनी माओवादी केन्द्रका रत्न ढकालसँग पराजित भएका थिए ।
लगानी निजी जग्गा र रिसोर्टमा
– कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका हालका अध्यक्ष हिमालयविक्रम मल्लले कान्तिपुर अस्पताल प्रालि र जग्गा व्यवसायमा लगानी गर्न थालेपछि बचतकर्ताको रकम फिर्ता दिन नसकेको बयान दिएका थिए ।
– कोरोना महामारीपछि आर्थिक मन्दी हुनु, जग्गाको कारोबारमा गिरावट आउनुका साथै कान्तिपुर अस्पताल सञ्चालनमा कठिनाइ भएपछि सगरमाथा सहकारी, कुटिर बचत तथा ऋण र मेरिगोल्ड सेभिङ एण्ड क्रेडिटलाई कान्तिपुर सेभिङमा गाभेर चलाएका थिए ।
– उनीहरुले काठमाडौंको फर्पिङमा, बूढानीलकण्ठ, थली–डाँछी, चपली भद्रकाली, टेकु, नयाँपाटी, लाजिम्पाट, नयाँबानेश्वर, बौद्ध, साँखु, काभ्रेको पनौती, भुम्लु, मण्डन देउपुर, भक्तपुरको साँगा, गुन्डु, धादिङको धुनीबेंसी, तनहुँ, खोटाङको हलेसी, मोरङको झोडाहा, बखरी, सर्लाहीको हरिवन, चितवन, हेटौंडामा घर जग्गा किनेका थिए । सहकारीका सञ्चालकहरूले उडुवादेवी रोडाढुंगा उद्योग नामक क्रसर उद्योग र हलेसीमा रिसोर्ट पनि खोलेका थिए ।
यसरी सहकारी सञ्चालकहरूले बचतको रकम अपचलन गर्दा लखौं बचतकर्ताहरू आफ्नो रकम फिर्ता पाउनुपर्छ भन्दै आन्दोलन गरिरहेका छन् । हुनत, सहकारीको सञ्चालकको सम्पत्ति बेचेर ५ लाख रुपैयाँसम्मको वचत फिर्ता गर्ने सरकारले घोषणा गरेको छ । यसको कार्यान्वयन कसरी हुन्छ त्यो हेर्न बाँकी नै छ । जे होस सीबी लामा पक्राउ पछि बचतकर्ताको रकम फिर्ताका लागि केही सहजता हुने अनुमान छ ।
सीबीमात्रै होइन सहकारीको रकम अपचलन गर्नेहरु सबैलाई कानूनी दायरामा ल्याउन सरकार सक्रिय बन्नै पर्ने देखिन्छ ।