
काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको छ ।
बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका सन्दीपलाई भिसा दिन अमेरिकाले पुनः अस्वीकार गरेको हो । उनलाई यसअघि जेठ ९ गते समेत अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।
सन्दीपले टी–२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र समेत पठाएको थियो । तर, सरकारी प्रयासले पनि सफलता पाएन ।
टी–२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ । जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ । सन्दीपलाई भिसा नदिएको बारे अमेरिकाले औपचारिक रुपमा कुनै कारण खुलाएको छैन । तर, सन्दीपविरुद्धको बलात्कार मुद्दाको न्यायिक प्रकृया अझै पुरा भइनसकेकाले भिसा नदिएको हुनसक्ने आकलन गरिएको छ ।
यही जेठ २ गते सन्दीपले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए । फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गरेको थियो र उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो । यद्दपी, उच्च अदालतको फैसलाको पूर्णपाठ आइसकेको अवस्था छैन ।
पूर्णपाठ आएपश्चात पीडितले सर्वोच्च जाने बाटो खुल्ने भएकाले न्यायिक प्रकृया नटुङ्गिँदै भिसा दिनु अमेरिकाले सही नठानेको हुनसक्ने आकलन गरिएको छ । न्यायिक सिद्धान्तमा न्यायिक प्रक्रियाको पूर्णता प्रमुखमध्येको एक मानिन्छ ।