
पोखरा । सार्वजनिक जग्गामा पहुँचवालाहरुले गिद्दे नजर लाउने त सामान्य भयो, तर सार्वजनिक सम्पत्तिको रक्षा गर्ने निकायले नै आफ्नै जमिन आर्थिक चलखेल गर्दै कौडीको मोलमा निजी क्षेत्रलाई सुम्पिने प्रवृति पनि बढ्दै गएको छ । पोखरामा पनि यस्तो प्रवृति देखिएकाले अहिले सरकारी जग्गा निजीलाई कौडीको मोलमा दिने भन्दै चौतर्फी विरोध भइरहेको छ ।
पोखरा महानगरपालिका १ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय जो पोखराकै पुरानो विद्यालय मध्येको एक हो । यस विद्यालयमा अहिले पनि १६ सय विद्यार्थी अध्ययनरत छन् । यसका बाबजुत पनि यो विद्यायल अहिले चौतर्फि बिरोधको घेरामा छ । विरोधको कारण हो, विद्यालयको जग्गा कौडीका मोलमा निजि स्कुललाई बर्षौसम्मलाई भाडामा दिनु । विद्यार्थी चापका कारण राष्ट्रिय मावि साघुरिदै गएको छ, तर विद्यालय व्यवस्थापन समितिले त्यसको प्रवाह नै नगरि आफ्नै जग्गा निजि स्कुल अञ्जुली आवसिय विद्यालयलाई वर्षौदेखि लिजमा दिँदै आएको छ ।
त्यसो त जग्गा मनपरि ढंगले निजि स्कुललाई भाडा दिएकोविरुद्ध अख्तियारमा समेत उजुरी परिसकेको छ । अख्तियारले पनि यो विषयमा स्कुललाई पत्र काटीसकेको छ । २०५८ सालमा स्थापना भएको अञ्जुली स्कुलले २०६२ देखि राष्ट्रिय माविको जग्गा कौडीको मोलमा भोगचलन गर्दै आएको छ । राष्ट्रिय माविको तत्कालिन व्यवस्थापन समितिले २०६२ सालमा विद्यालयका ३ वटा भवन र चौर मासिक जम्मा ३० हजारका दरले २०७२ सालसम्मलाई १० वर्षका लागि लिजमा दिने सम्झौता गर्यो ।
२०७२ सालमा सम्झौता सकिएपनि न अञ्जुली स्कुल हटेर गयो न राष्ट्रिय माविले हटायो । बरु २०८० चैतसम्म विना सम्झौता अञ्जुलीले जग्गा भोग चलन गर्दै आयो, तर अहिले आएर अञ्जुली स्कुललाई हटाउनुको सट्टा स्थानीयको विरोधका बाबजुत पनि राष्ट्रिय माविको व्यवस्थापन समितिले फेरी १० वर्षलाई वार्षिक ९५ हजारका दरले लिजमा दिने सम्झौता गरेको छ । अर्को अचम्मको कुरा त के हो भने, सम्झौता पत्रमा लिजमा दिने जग्गाको कुनै क्षेत्रफल नै तोकिएको छैन । सरकारी स्कुलको जग्गामा यसरी मनोमानी गर्न मिल्छ त भनेर प्रश्न गर्दा राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा आफ्नो निर्णयको बचाउमा यसरी उत्रिन्छन् ।
राष्ट्रिय मावि राम्रै आम्दानीको स्रोत भएको विद्यालय हो, जसको टुडिखेल जस्तो बजारमा दर्जन बढी व्यापारिक सटरहरु छन् र टुडिखेल मैदान पनि विद्यालयकै नाममा छ । तर, मासिक ९५ हजारकै लागि आफ्नै स्कुलको जग्गा त्यो पनि निजि स्कुललाई दिनु भनेको पक्कै त्यसमा केही स्वार्थ छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।