News 24 Television
पर्यटक मोहित गर्ने केत्तुके, प्राकृतिकसँगै सांस्कृतिक मोहन 

ओखलढुङ्गा । प्राकृतिक र सांस्कृतीक रुपले भरिपूर्ण ओखलढुंगामा पर्यटकीय सम्भावना बोकेका थुपै्र स्थानहरु छन् । यहाँका विभिन्न ऐतिहासिक स्थल, झरना, खोला, गाउँ बस्ती, अग्ला पहाड, वनजंगल, गुफा लगायत मनोरम दृष्य हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । 

त्यसैले पनि पर्यटन व्यवसायको राम्रो सम्भावना देखिएका क्षेत्रमा अहिले पूर्वाधारण निर्माणले गति पाइरहेको छ । यो दृष्य हो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ४ स्थित केत्तुके बजारको । सदरमुकामबाट झन्डै १३ किलोमिटरको दुरीमा अवस्थित यो बजार पछिल्लो समय पर्यटकिय गन्तब्य बन्दै गएको छ । 

काठमाण्डौ र तराईका जिल्ला आवतजावत गर्ने मुख्य सडकको बिचमा अवस्थित केत्तुकेमा विशेष गरी तामाङ समुदाय र बौद्धधर्मावलम्बीहरुको बाहुल्यता छ । 

यहाँको संस्कार संस्कृति र समाज हेर्न, बुझ्न र घुम्न आउनेहरुको संख्या पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । अहिले यहाँ निर्माण भएका विभिन्न पूर्वाधार र निर्माणाधिन संरचनाले पनि पर्यटक तानिँदै गएका छन् । 

केत्तुकेमा रहेको शहिद स्मृति पार्क, सम्भवत नेपालकै सबै भन्दा अग्लो ३५ फिटको बुद्धको मूर्ति,  बौद्ध गुम्बा र हालै ओखलढुंगामै पहिलो पटक सञ्चालनमा आएको जिपलाईनले केत्तुके क्षेत्र थप आकर्षक बन्दै गएको छ । 

स्थानीय उत्पादन र खानाको स्वाद लिन पाईने र पर्यटकिय पुर्वाधारहरु धमाधम बन्न थालेपछि अहिले यस क्षेत्रमा आन्तरीक तथा बाह्य पर्यटकको लहर नै लाग्न थालेको छ । 

केत्तुकेलाई प्राकृतिक मात्रै नभएर सांस्कृतिक एवं धार्मिक मान्यताका रूपमा पनि पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गाउँपालिका र वडा कार्यालय लागिपरेको छ । 

पर्यटन प्रर्वद्धनकै लागि ओखलढुंगामै पहिलोपटक सरकारी लगानीमा झन्डै ४० लाख खर्च गरेर ४ सय ५० मिटरको जिपलाईन सञ्चालनमा आएपछि यस क्षेत्रको रौनक नै थपिएको छ । 

प्राकृतिक सौन्दर्यले भरिपुर्ण केत्तुकेमा पछिल्लो समय पर्यटकिय पुर्वाधारहरु बन्न थालेपछि यो क्षेत्र चर्चामा आउन थालेको छ । यसको थप प्रचारप्रसार गर्न र आगन्तुकलाई स्थानीय खाना तथा सुविधा सम्पन्न बासको ब्यवस्था गर्न सके केत्तुकेको मात्रै नभएर ओखलढुंगामै पर्यटन ब्यवसाय फस्टाउन मद्दत पुग्ने देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update