News 24 Television
‘सरकार–बालेन द्वन्द्व’ उत्कर्षमा : बालेन रोकिन नमान्ने, सरकार गर्न नदिने !

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह निर्वाचित भएपछि चर्चित र लोकप्रिय छन् । काम गर्ने फरक शैली र नेताहरुमाथि कडा टिप्पणीले गर्ने गरेका बालेनले राजनीतिमा आफ्नो परिचय स्थापित गराइसकेका छन् । 

नागरिक सेवालाई बढी जोड दिन खोज्ने बालेनले भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यजस्ता क्षेत्रमा उल्लेख्य विकासको मोडेल प्रस्तुत गरिरहेका छन् । सार्वजनिक शैक्षिक संस्थाहरुमा राजनीति निषेधको अवधारणादेखि गरिब, विपन्न र असहायका लागि बालेनले काठमाडौका विभिन्न अस्पतालमा निशुल्क स्वास्थ उपचारको व्यवस्था मिलाइसकेका छन् । 

युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महानगरले ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ नामक कार्यक्रम ल्याएर २ हजार ८१  जनालाई विभिन्न क्षेत्रका सीप सिकाइ रहेका छन् । तर बालेनले आफ्ना योजना तथा अवधारणाहरु कार्यान्वयनमा ल्याउँदा विभिन्न राजनीति अवरोधहरु झेल्नु परेको छ । केही समयअघि न्यूरोडमा पार्किङ हटाउँदा होस् वा धरहराको पार्किङ खुला गर्दा उनले राजनीतिक दलहरुको आलोचना र विरोध खेपे ।
 
 त्यस्तै सुकुम्बासी बस्ती हटाउने विषयमा पनि मेयर बालेनले दलहरुको आलोचना खेपेका थिए । यो विषयमा दलहरुले अझै बालेनमाथि विभिन्न टिका टिप्पणी गर्दै आइरहेका छन् ।

स्वतन्त्रबाट निर्वाचित मेयर बालेन शाह पूर्वाधार विकास अभियानका क्रममा हाल न्यूरोडको फुटपाथ विस्तार तथा स्तरोन्नति गर्ने योजनामा छन् । यसका लागि बालेनले रेखाङ्कनसँगै सडक भत्काउने काम समेत अघि बढाइरहेका छन् । 

यसको मुख्य उदेश्य सर्वसाधारणको आवगमनमा सहज होस भन्ने नै हो । तर यो कार्यबाट पनि मेयर बालेनसँग सडक विभाग र स्थानीय चरम असन्तुष्ट छन् । न्यूरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइको कालोपत्रे सडक तथा त्यसको दुवैतर्फ २ दशमलव ४ र २ दशमलव ६ मिटरको फुटपाथ छ । 

यही फुटपाथलाई थप साढे एक मिटर बढाएर स्तरोन्नति गर्ने बालेनको चाहना छ । महानगरको योजना अनुसारको काम भएको अवस्थामा मुख्य सडक खुम्चिएर सात मिटरमा झर्नेछ भने फुटपाथ झन्डै चार मिटरको बन्नेछ । तर यो योजनामा सडक विभागले विमत्ति जनाउँदा मेयर बालेन र सरकारबीच कडा टसल पैदा भइरहेको अवस्था छ । 

महानगरको उक्त गतिविधि र कार्य रोक्न भन्दै सडक विभाग अन्तरगतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले मेयर बालेनलाई तीन पटक पत्र पठाइसकेको छ । 

महानगरको नाममा बुधबार तेस्रो पटक पत्र लेखेर भत्काइएको सडक खण्ड २ दिनभित्र पुनर्स्थापना गर्न अल्टिमेटम दिएको हो । यसअघि महानगरलाई सडक डिभिजनले जेठ ३ गते पहिलो पटक र १३ गते दोस्रो पटक चिठी लेख्दै सडक नभत्काउन र भत्काइएको सडक तत्काल निर्माण गर्न भनेको थियो । तर सडक विभागले गरेको उक्त आग्रहलाई महानगरले गम्भीर रुपमा लिएको छैन । 

बुधबार तेस्रो पटक लेखिएको उक्त पत्रमा भने पटक पटक पठाइएको पत्रप्रति गम्भीर नरहेको भन्दै महानगरलाई कारवाही नै गर्ने चेतावनी दिइएको छ । 

चेतावनीको व्यहोरासहित लेखिएको पत्रमा विना सहमति न्यूरोडस्थित जुद्ध सालिक इन्द्रचोक सडक खण्डमा सडक खन्ने तथा भत्काउने काम भएको र उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप हुने कार्य भएको उल्लेख छ । यो विषयमा पटक पटक ध्यानाकर्षण गर्दा पनि महानगरले अटेर गरेको पत्रमा उल्लेख छ । 

सडक विभागको पटक पटकको पत्रलाई बेवास्ता गरेर निरन्तर काम अघि बढाइरहेका मेयरले केही दिन अघि प्रतिजवाफस्वरुप एक स्टाटस लेखेका थिए । जसमा चक्रपथको दोस्रो खण्डको विस्तार कार्यप्रति सरकारले गरेको ढिलाईको प्रशंग उठाएका थिए । 

कलङ्की – महाराजगन्ज सडक निर्माणका लागि २०१२ मा केही महिनाभित्रै काम थालनी गर्ने भनिए पनि सरकारले अझैसम्म कार्यरम्भ नगरेको भन्दै बालेनले प्रश्न उठाएका थिए । 

उक्त सडक लथालिङ्ग हुँदा जनता धुलाम्य हुँन बाध्य भएको भन्दै मेयर बालेनले सडक विभाग कार्यालय अघि एक ट्रक धुलो नै खन्याइदिए । उनले केन्द्र सरकारलाई सडक निर्माण कार्य अघि नबढेसम्म दैनिक धुलो पठाउने चेतावनीसमेत दिए । 

यसपछि केन्द्र सरकार र मेयर बालेनको पक्ष विपक्षमा आम नागरिकस्तरमा पनि चर्को आवाज उठिरहेको छ । न्यूरोडको फुटपाथ विस्तार रोक्नका लागि महानगरमाथि सरकारले लगातार दवाव बढाएपनि मेयर बालेन भने टसमस भएका छैनन् । 

विगतमा पनि आफ्नो योजना सफल पार्न केन्द्र सरकार र राजनीतिक दलहरुसँग डटेर सामना गर्दै आएका बालेनले यस विषयमा थप अन्य टिप्पणीहरु भने गरेका छैनन् । पछिल्लो पत्रको विषयमा बालेनले हालसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन् । 

न्यूरोडको फुटपाथ विस्तार कार्य नरोके कारवाही नै गर्ने चेतावनी दिँदा पनि निरन्तर काम अघि बढाइरहेका बालेनमाथि सरकारले कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update