मुगु । गर्मी बढेपछि बेसी, गाँउघरमा, राखेका मुगुका भेडी गोठाला बथानसहित पाटन उक्लिएका छन् । बेँसीमा खेति गर्ने समय हुनुका साथै घाँसपात दाना र चरन क्षेत्रको समस्या हुने हुदा वैशाखदेखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् ।
फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम भेडीगोठ पाटनतिर सारेपछि गाउँ सुनसान बनेका छन् । हिमाली जिल्ला मुगुका नागरिकको मुख्य पेशा हो भेडा पालन । भेडापालनलाई पुख्यौली पेशाका रुपमा हेरिन्छ ।
मुख्य आम्दानीको स्रोत भेडाबाख्रा नै हुने हुँदा शोभा, मुन्दु, रोवा, कोटीला, पिना, वाम, सोरुकोट, नेर, धैन, आसिधारा, कालै, सिडी, जामा, सेरी, हखमाले, कवा, कोटीला लमेरा लगायतका क्षेत्रलाई भेडा बाख्रा पकेट क्षेत्र नै मानिएको छ । मानिएका गर्मी बढेपछि बेसीका भेडाका बथानसहित गोठालाहरु पाटन उक्लिएका हुन् ।
वैशाखमा गर्मी बढ्ने भएकाले हरेक वर्ष बैशाख १५ देखि नै गोठालाले भेडाको बथान पाटनतर्फ लैजान सुरु गर्छन् । जेठ अन्तिम सातासम्म लगभग सबै गोठाला भेडा, बाख्राको बथानसहित पाटन उक्लिसक्छन् ।
यो बेला गमीसँगै बेंसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको पनि अभाव हुने गर्छ । यतिबेला पाटन उक्लिएका गोठालाहरु कार्तिकसम्म गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै समय बिताउने गर्छन् ।
६ महिनालाई पुग्ने खाद्यान्नसहित उनीहरुले सुरक्षाका लागि कुकुर पनि साथमा लैजान्छन् । घुमन्ते जीवन बिताउने भेडीगोठालाहरु भोजपत्र, त्रिपाल र ढुँगाले छाएको गोठ बनाएर बस्र्ने गर्दछन् ।
उन उत्पादन गर्ने उद्देश्यले भेडापालन गर्ने गरिएको छ । भेडाको ऊनबाट राडि पाखि बनाउने गरिन्छ । महिनामा ३ पटक आयोडिनयुक्त नुन दिने गरिएका यी भेडाहरुबाट असोजमा ऊन निकाल्ने गरिन्छ ।
बजारमा मासुको प्रयोजनका लागि मात्र नभई राडीपाखीको माग अत्याधिक भएकाले पनि मुगुमा भेडापालनतर्फ किसानको आकर्षण छ । आ.व. ०८९। ०८०को रेकर्ड अनुसार मुगुमा भेडाको संख्या ३१ हजार ५ सय, बाख्राको संख्या ७० हजार ४ सय ८५ रहेको छ । हिउँदमा हिँउ पर्ने हुँदा भेडा बाख्रालाई लेकबाट बेसी झार्ने तथा बर्षाको बेला लेकतिर चरिचरन प्रयाप्त हुने भएकाले लेकतिर सार्ने गरिएको छ ।
आफ्नै लगानीमा भेडा बाख्रा ब्यवसाय गर्दै आएको कृषकहरुलाई राज्यका तीनै तहका सरकारले भेडी गोठाला र भेडा बाख्राको औषधि उपचारसहित अनुदानका कार्यक्रम ल्याई अझ आकर्षित गर्न जरुरी छ ।