News 24 Television
‘८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने नियम बनाऔँ’

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै अहिले हिमनदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको बताए । उनले आरोहणलाई नियमन गर्न जरुरी रहेको भन्दै आरोहणको मापदण्ड व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । 

 ‘जलवायु परिवर्तनको चपेटामा आज हाम्रो देश पनि अछुतो रहेन । हामीले वन क्षेत्रको संरक्षणमा उल्लेख्य उपलब्धि हाँसिल गरेका छौँ । यसले हाम्रो पर्यावरणलाई धेरै हदसम्म राहत दिएको छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘तर हामीसँग भएका हिमालहरुका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ । फलस्वरुप अहिले हिउँ नदीहरु क्रमशः सुक्ने अवस्थामा छन् । हिमाल काला हुँदै गएका छन् । यसको संरक्षणमा धेरै उपाय होलान् । प्राकृतिक रुपमा जस्तो अवस्थामा छ, त्यस्तै कायम राख्ने हो भने एउटै मात्र उपाय हो आराम दिने, पूर्ण रुपमा प्रयोगमा ल्याउने, आरोहण बन्द गर्ने भनेको पनि होइन, आरोहणलाई नियमन गर्न जरुरी छ । यसको मापदण्डलाई व्यवस्थित बनाउन जरुरी छ ।’ 

हाल कायम रहेको ६ हजार मिटरमाथिका हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई ८ हजार मिटरमाथिको हिमाल आरोहण गरेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ । कार्कीले भने, अहिलेको ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था छ । अब ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनु पर्छ । त्यसो हुँदा हाम्रा आठ हजार मिटर माथिका हिमालहरुको संख्या बढ्छ । जनताको अर्थिक अवस्थामा पनि राम्रो हुन्छ ।’
 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update