
काठमाडाैँ । कुवेतमा बन्धक सरहको अवस्थामा फसेकी एक नेपाली चेली रेखा परियार अन्ततः सकुशल नेपाल फर्किएकी छिन् । सिधकुरा जनतासँग भिडियो कल मार्फत जोडिएर आफ्नो पीडा सुनाएकी रेखालाई लामो संघर्षपछि नेपाल फर्काउने सफलता प्राप्त भएको छ । कुवेतमा १० महिनासम्म नारकीय जीवन बिताएकी रेखा मानसिक यातनाको सिकार भइन् । उनको मनोदशा बिग्रिसकेको थियो । तर, उनले हिम्मत हारिनन् । आफूलाई सम्हालिन् । आफ्नो पीडा चिच्याइ चिच्याई सबैलाई सुनाइन् । विदेशमा समस्या पर्दा पीडा गुम्साएर होइन, जे पर्छ परोस् तर म कराउँछु, न्याय माग्छु भन्ने उनले अठोट लिइन् । यहि अठोटले उनलाई फेरि मातृभूमि टेक्ने अवसर दिलायो ।
कुवेतमा बन्धक बनाइएकी दाङकी रेखा परियारको सिधा कुरा जनतासँगको विशेष पहलमा उद्दार भएको छ । उद्दारपछि परियार शनिबार नेपाल फर्किएकी छिन् । नेपाल फर्किएलगतै न्यूज २४ टेलिभिजनको कार्यालयमा आइपुगेकी उनले खुशी व्यक्त गरेकी छिन् ।
कुटपिट गर्दै कामबाट निकालेर बन्धक
०८० जेठ २४ गते रेखालाई घरेलु कामदारका लागि अवैध रुपमा ओमान पुर्याइएको थियो । शान्ती केसी र शेरबहादुर कसेरा नाम गरेका एजेन्टले उनलाई ओमान पुर्याएका थिए । तर, १५ दिनसम्म ओमनमा बिनाकाम बस्नु परेपछि रेखाले नेपाल फर्काइ दिन आग्रह गरिन् । नेपाल फर्किदा चार लाख रुपैयाँ तिनुपर्ने भन्दै एजेन्टले १५ दिनपछि ओमनबाट कुवेत पुर्याएका थिए । कुवेतमा भने १० महिना उनले नारकिय जीवन विताउनु पर्यो ।
रोजगार दाताको कुटपिट र यातनाकै कारण उनी मानसिक रुपमा विचलित भइन् । उनलाई रोजगारदाताले कामबाट समेत निकालिदियो । त्यसपछि कुवेतस्थित एजेन्टको कार्यलयमा उनलाई बन्धक बनाएर राखियो । बन्दा कोठामा थुनेर उनलाई बाहिर पनि निस्कन दिइएन ।
रेखाको पासपोर्ट पनि रोजगारदाताको नियन्त्रणमा लिएको थियो । न हातमा पासपोर्ट, न कुनै रोजगारी, न त नेपाल फर्किने कुनै उपाय नै । यस्तो अवस्थामा त्यही बन्द कोठाबाट हाम्रो भिडियो सम्पर्कमा आएकी उनले उद्दारका याचना गरेकी थिइन् ।
रेखा कुवेतमा शारिरीक र मानसिक यातनाका बाबजुद काम गर्न बाध्य थिइन् । नेपाल फर्कन्छु भन्दा आफूले ६ सय दिनारमा खरिद गरेकाले उक्त रकम फिर्ता दिएमात्रै कागजात फिर्ता गर्ने अडान रोजगार दाताको थियो । तर ६ सय दिनार अर्थात २ लाख ६० हजार रुपैयाँ तिर्नसक्ने अवस्था रेखाको थिएन । रेखाको गुनासो सुनेपछि हामीले उनलाई कुवेत पुर्याउने मध्येका एजेन्ट शेरबहादुर कसेरालाई सम्पर्कमा ल्याएका थियौँ । उनले रेखालाई १५ दिन भित्र नेपाल फर्काउने बताएका थिए ।
अन्ततः १० महिनाको कष्टपूर्ण बसाईपछि रेखालाई नेपाल फर्काइयो । उनको नागरिकता एजेन्ट शेरबहादुर कसेराको कब्जामा थियो । नेपाल फर्कदा रेखासँग आफ्नो घर दाङ फर्कन गाडी भाडा तिर्न समेत पैशा थिएन् । उनको नागरिकता पनि एजेन्टकै कब्जामा थियो । हामीले एजेन्ट कसेरलाई पुनः सम्पर्कमा ल्याएर उनको नागरिता फिर्ता गर्न र क्षतिपूर्तीवापतको रकम उपलब्ध गराउन भन्यौँ । हामीले सम्पर्क गरेपछि एजेन्ट बसेरा आफैँ हाम्रो कार्यालय नआएपनि उनले पठाओ राइडरमार्फत रेखाको नागरिकता र क्षतिपूर्तीवापत पाँच हजार रकम फिर्ता गरे । आफ्नो नागरिकता र बाटोखर्च पाएपछि रेखा पनि शनिबार नै आफ्नो घर दाङ पुगिन् ।