काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन शुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारका लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताएका छन् ।
सोमवार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुनसम्बन्धी विपद् जोखिमबारे सरोकारवालहरुसँगको छलफलमा बोल्दै उनले सो कुराको जानकारी दिएका हुन् । उनले वर्षायाम शुरु भएसँगै मनसुनजन्य विपदमा जनताको उद्धार र राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकप्टर व्यवसायीका प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागका प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र टास्क फोर्स बनाउने बताए ।
उक्त फोर्सले तीन दिनभित्रमा विपद्बाट जनतालाई जोगाउनका लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजनासहितको कार्यविधि बनाउन समेत उनले निर्देशन दिए ।
मनसुन शुरु भएकाले प्राकृतिक विपद्मा जनताको राहत र उद्धार गर्नु राज्यको दायित्व भएको भन्दै जोखिम आउनुअघि नै राज्यले तयार गर्नु आवश्यक रहेको गृहमन्त्रीको भनाइ छ । उनले टास्क फोर्सले सम्पूर्ण अधिकार पाउने गरी कार्यविधि बनाएर कामको थालनी गर्न निर्देशन दिएका छन् ।
बाढी–पहिरोको कारण सडक अवरुद्ध हुँदा तत्कालको लागि बेलीब्रिज आवश्यक पर्ने भएकाले बेलीब्रिजको अवस्था तत्काल सार्वजनिक गरी व्यवस्थित गर्न पनि उनले निर्देशन दिए । साथै एडिआरआरईलाई विपद् आउन सक्ने १० जोखिममा क्षेत्र तत्कालै टिम पठाउन पनि निर्देशन दिए । अति जोखिम क्षेत्रका नागरिक बचाउन अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उनको भनाइ छ ।