काठमाडौं । अर्थशास्त्री कहलिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्ले रोष्टममा बोल्दै गर्दा आइतबार रोचक दृष्य देखिए । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी स्वर्णिमले आफ्नो भूमिका बिर्सिएर कांग्रेसप्रति आक्रोश पोखिरहेका थिए ।
कांग्रेसले पनि उनी बोली रहँदा विरोधका स्वर चर्काइ रहेको थियो । तर, वाग्लेले कांग्रेसमाथि कुण्ठा पोख्दै गर्दा उनले आफ्नो आवश्यक भूमिका बिर्से । कुण्ठाकै सुरमा रहेका वाग्लेलाई विषय प्रवेश गर्न नै सभामुखले दुई पटकसम्म रुलिङ गर्नुपर्ने अवस्था आयो ।
अर्थशास्त्रमा गहिरो ज्ञान भएको भनिने डा. स्वर्णिम वाग्लेले कांग्रेसबाट लामो समय लाभको पद लिइरहे । लाभको पद लिनेक्रममा देखिएको विवादपछि उनी कांग्रेस परित्यागको अवस्थामा पुगे । कि सांसद कि मन्त्रीसरहको सुविधासहित राष्ट्रपति कार्यालय ताकेका वाग्लेलाई कांग्रेसले मौका नदिएपछि उनी रास्वपा छिरे ।
लाभकै लयमा रहेका उनी राष्ट्रपति रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रबाट निर्वाचित त भए । तर, उनलाई कांग्रेसजनले विभिन्न आरोप लगाउदै आएका छन् ।
संसदमा के गरे वाग्लेले ?
प्रतिनिधिसभाको बैठकमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुन डा. स्वर्णिम वाग्ले कांग्रेसको अवरोधकाबीच रोस्टममा उक्लिए । रोष्टममा पुगेका वाग्लेविरुद्ध कांग्रेस सांसदहरुले थप बलसहित हो–हल्ला गरे । यस्तो अवरोध चलिरहेका बेला वाग्लेले कांग्रेसप्रति आक्रोशको वर्षा गर्न थाले ।
वाग्ले कांग्रेसप्रति आक्रोशित बन्दै आरोप लगाउन थालेपछि सभामुख देवराज घिमिरेले उनलाई विषय प्रवेश गर्न रुलिङ गरे ।
सभामुखले रुलिङ गरेपनि वाग्ले रोकिएनन् । वाग्लेले कांग्रेसप्रति विष वमन गरिरहे । कांग्रेस आफ्नो आदर्श रहेकोदेखि बीपी कोइरालाको विषय उठाएका वाग्लेले सरकारले ल्याएको नीति तथा कार्यक्रममा छलफल गर्नुपर्ने भएपनि उनी विषय केन्द्रित हुन सकेनन् । यस्तोमा उनको विषय विज्ञतामा ग्रहण लागेसमान देखियो ।
वाग्लेको आक्रोश किन ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय समिति बन्नुपर्ने भन्दै संसद अवरोध गरिरहेको छ । संसदमा अवरोध गरिरहेको कांग्रेसलाई सत्ता पक्षले अनेक प्रश्न गरेपनि कांग्रेस टसमस भएको छैन् ।
यस्तोमा रास्वपाले रणनीतिक रुपमा कांग्रेसप्रति आक्रोश व्यक्त गर्न नसकिरहेको बेला स्वर्णिम वाग्लेले भने कडा शव्दमा विषय वमन गर्न खोजिरहेका छन् । कांग्रेसप्रति आक्रोश पोख्न उनी स्वतन्त्र भएपनि संसदमा विग्रिरहेको र सत्ता पक्ष एकपक्षीय ढंगले अघि बढिरहेको विषयमा वाग्लेले जिस्काउने काम गर्नाले भने उनीमाथि प्रश्न स्वभाविक रुपमा उठेको छ ।
कांग्रेसको राजनीतिबाटै उदाएका स्वर्णिमलाई अहिले कांग्रेसमाथि नै आक्रोश र प्रहार गर्नुपर्ने स्थिति बन्दा असहज स्थिति मात्रै बनिरहेको छैन्, वाग्लेको आक्रोशलाई अनेक विषयसँग जोडेर हेर्न थालिएको छ ।