News 24 Television
वन्यजन्तुबाट जोगाउन बेसार खेती

बाँके । जंगली जनावरबाट आजित बनेका बाँकेको कम्दि कोरिडोर क्षेत्रका कृषकहरुले बैकल्पिक खेती रोज्न थालेका छन् । 

बन्यजन्तुबाट प्रभावित कम्दि कोरिडोर क्षेत्रमा बन्यजन्तुले नरुचाउने बेसार खेती सुरु गरेका हुन् । कोहलपुर नगरपालिका –७ सल्यानी टोलमा आस्था सामुदायिक वन उपभोक्ता समूह मार्फत बेसार खेती सुरु गरिएको छ । 

बाँकेमा बागेश्वरी सामुदायिक बन, शिवशक्ति सामुदायिक बन र आस्था सामुदायिक बनका १८ जना महिलाहरु मिलेर आस्था सामुदायिक वन उपभोक्ता समूह नाम दिई बेसार खेती सुरु गरेका छन् । 

जङ्गली जनावरले धान मकै गहुँ लगायत अन्नबाली सखाप गरिदिँदा परम्परागत खेती गर्दै आएका किसानहरुले विकल्पका रुपमा बेसार खेती थालेका हुन् । 

बन्यजन्तुको क्षतिले अन्नबालीको लाभ लिन नसकेका किसानहरुले बेसार खेतीबाट अहिले राम्रै आम्दानी लिएको बताउँछन् ।  

१८ जना महिला मिलेर पन्ध्र कठ्ठा जग्गाबाट सुरु गरेको बेसार खेती यो बर्ष उत्पादन अझ बढाउन भन्दै जग्गा थप गर्ने योजनामा छन् । 

वर्षभरि गरेको मेहनतको फल क्षणभरमै जङ्गली जनावरले खाइदिनाले पीडित बनेका किसानले पछिल्लो समय बेसार खेतीबाट राम्रो आम्दानी लिन थालेका हुन् । 

सामुदायिक वनमा आबद्ध उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले तराई भू–परिधि कार्यक्रमले किसानहरूलाई निःशुल्क रुपमा बेसारको बिउ तथा तालिमसँगै १ लाख १० हजारको बेसार पिस्ने र प्याकिङ गर्ने मेसिन समेत उपलब्ध गराएको छ । 

समूहका महिला दिदिबहिनीहरुले उत्पादन गरेको काचो बेसार १५० रुपैया, नम्बर र पिसेको बेसार ३ सय रुपैयाँ किलोका दरले बिक्री हुने गरेको छ । 

पहिले पहिले बजारीकरणको समस्या बेहोर्नु परेपनि अहिले समूहका दिदिबहिनीहरुको सक्रियताले बजारीकरण गर्न सहज भएको  छ  । 

बेसारलाई ब्राण्डिङ्ग गर्न कम्दि जैविक बेसार नाम समेत दिइएको छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कोरिडोर क्षेत्रमा वर्षभरि गरेको मेहनतको फल छिन्भरमै जंगली जनावरले खाइदिनाले पीडित बनेका किसानले विकल्प स्वरुप जंगल जनावरले नखाने बेसार खेती उत्तम विकल्प बनेको छ । 

त्यसैले ब्यवसायिक रुपमा नै बेसार खेती थालेका किसानहरुलाई प्रोत्साहन गरी उत्पादन प्रवद्र्धन गर्न स्थानीय, प्रदेश तथा केन्द्र सरकारले  विशेष योजना ल्याउन आवश्यक छ । 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update