News 24 Television
मर्मत नहुँदा मुगुवासी ज्यान हत्केलामा राखेर पुल तर्दै

मुगु । मुगुको सोरु गाउँपालिकाको कुलाहामा २०३९ सालमा निर्माण भएको कुलाह झोलुङ्गे पुल जीर्ण बनेको लामो समय भइसक्यो । 

यो पुलबाटै रुम, कच्र्चे, कालै, खनाया, धैन जिमा, पुरुमुरु, सोरु गाँउपालिका र पर्यटकीय केन्द्र तातोपानी कुण्ड र तातोपानी गुफा जानुपर्छ । तर समयमै पुल मर्मत नुहँदा स्थानीय र पर्यटक जोखिम मोलेर पुल तर्न बाध्य छन् । 
   
मुगुको सोरु गाउँपालिकाको कुलाहास्थित झोलुङ्गे पुल जीर्ण भएको एक दशक भयो । तर पुलको मर्मत सम्भारमा राज्यका कुनै पनि निकायले चासो दिएका छैनन् । जीर्ण पुलबाटै स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य छन् । 

यही पुल तर्दै कालै, खनाया, जिमा, पुरुमुरुका कैयौ वासिन्दा आवातजावत गर्छन् । २०३९ सालमा बनेको चारदशक पुरानो पुल वारपार गर्दा कतिबेला के दुर्घटना हुने हो भन्ने चिन्ता स्थानीयमा छ ।  

पुलमा बिछ्याइएका पाता सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुँडिएको छ । सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलको प्रयोग गर्नुपर्छ । 

योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैंकको काममा र सरकारी सेवा लिन स्थानीय यही जोखिमपूर्ण पुल तर्छन् । पुल मर्मत नगरेको विषयमा गाउँपालिकाको भनाइ अर्कै छ । 

प्राबिधीक टोलीले अनुगमनपछि बुझाएको प्रतिवेदन अनुसार पुल मर्मत गर्न उपयुक्त नरहेको पालिकाको दावी छ । पुल महाशाखाबाट यही पुल आसपास अर्को पुल निर्माणका लागि सर्वे भइसकेको हुनाले नयाँ पुल निर्माण गर्ने योजना रहेको पालिकाले जनाएको छ ।   

सोरु गाउँपालिकाकै नेरघाट झोलुङ्गे पुल पनि लामो समयदेखि जीर्ण छ । गत वर्षायाममा माथिबाट ढुङ्गा खस्दा पुलमा क्षति भएको थियो । 

विसं २०५२ मा निर्माण गरिएको पुलको करिब आठ महिनादेखि मर्मत गरिएको छैन । पुल जीर्ण भएपछि नेर र हुम्लाको जैरगाउँका बासिन्दालाई वारिपारि गर्न समस्या भएको छ । 

बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भए पनि कम बजेट हुँदा समस्या भएको गाउँपालिकाको भनाइ छ । यी त केही उदाहरण मात्र हुन्, जिल्ल्लाका अधिकांस ठाउँमा राज्यले मर्मतमा ध्यान नदिएको वर्र्षौ पुराना कैयौ जीर्ण पुलहरु छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update