काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संस्थागत रुपमै निर्णय गरेर संडक संघर्षको घोषणा गरिसकेको छ ।
गिरिबन्धु टि–स्टेटको जग्गा प्रकरणमा आएको अदालतको आदेश कार्यान्वयन र सहकारी ठगी प्रकरणको विषयमाथि अनुसन्धान गराउन दवावस्वरुप काँग्रेसले आन्दोलन गर्ने भएको हो । काँग्रेसको घोषणा अनुसार यही जेठ १३ गते काठमाडौँ उपत्यकामा प्रदर्शन गरेर आन्दोलन आरम्भ गर्ने भएको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने भन्दै काँग्रेसले संसदीय छानविन समिति पनि माग गर्दै आएको थियो ।
यसबीचमा समिति बन्ने सहमति भएको छ । तर संसदीय छानविन समितिको कार्यादेश तथा सीमा निर्धारण गर्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन । सत्ता पक्ष समग्र संकटग्रस्त सहकारीहरुको छानविन गर्नुपर्ने पक्षमा छ भने काँग्रेस रविको नाम जोडिएका सहकारीको विषयमा मात्रै छानविन गर्नुपर्ने पक्षमा छ ।
यही विषयमा सत्तापक्ष र प्रतिपक्षबीच दोहोरी चलिरहँदा प्रहरीले दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको थियो ।
यसलाई प्रतिपक्षी दलहरुले सहकारी ठगी प्रकरण्मा र गिरिबन्धु टि–स्टेटको जग्गामा नीतिगत भ्रष्ट्राचार भएको प्रकरणलाई विषयान्तर गर्न खोजेको आरोप लगाइरहेको छ ।
गिरिबन्धु प्रकरणसँग पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम जोडिँदै आएको छ भने सहकारी प्रकरणमा गृहमन्त्री रवि जोडिएका छन् ।
यी दुवै विषयलाई संसदमा पेचिलो बनाएको नेपाली काँग्रेसले सिरोहिया पक्राउ गरेर सरकारले सत्तारुढ दलका नेताहरुलाई लागेको आरोपलाई छाँयामा पार्न खोजको निश्कर्ष निकालेको छ ।
यीनै विषयहरुलाई मुख्य मुद्धा बनाएको काँग्रेसले खासगरी गृहमन्त्रीलाई तारो बनाएर सडक आन्दोलनको घोषणा गरेको हो । तर यस विषयमा सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने काँग्रेसको गतिविधिलाई हाँस्यास्पद भनेका छन् । काँग्रेसजस्तो स्थापित पार्टीले भएर भर्खरै राजनीतिमा आएका रविलाई बारम्बार लखेट्नु अस्वभाविक भएको टिप्पणी गरेका हुन् ।
साथै अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता र्कीर्ते प्रकरणमा पक्राउ गरिएको उल्लेख गरेका छन् ।
सिरोहियामाथिको अभियोगको सम्बन्धमा प्रमाण नष्ट गर्नसक्ने आशंकाकै आधारमा अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको ओलीले प्रष्टिकरण दिएका छन् । यदी निर्दोष भए सिरोहिया केही दिनमै छुट्न सक्ने समेत ओलीको भनाइ छ ।
तर गृहमन्त्रीसहित सत्तारुढ दलका नेताहरुमाथि नै गम्भीर आरोप र संसदमा नेपाली काँग्रेसले वितण्ड मच्चाइरहँदा सिरोहिया पक्राउ परेपछि राजनीति र संचार दुवै क्षेत्र तितरबितर बनिरहेको स्थिति छ ।
यो प्रकरणले जनताको समस्या र आवश्यकताहरुलाई भने छाँया पारिरहेको छ । दलहरु कुनै न कुनै बहानामा आफ्नो गल्ती ढाक्न र स्वार्थ पूर्तिका लागि अनेक षड्यन्त्र गरिरहेको आम जनतामा भान भइरहेका छन् ।
यसबाट नेताहरुले मुलुकमा राजनीति भन्दाबढी अनावश्यक रुपमा अराजकता प्रस्तुत गरिरहेको प्रष्ट देखिन्छ । तसर्थ अब जनताले पनि नेताहरुमाथि पक्षधरता देखाउनुभन्दा विवेकसंगत ढंगले ठिकलाई ठिक र गलतलाई गलत भन्न सक्नुपर्छ ।