News 24 Television
भत्ता खाने काम नगर्ने सांसदको फोटो जनताले टाँस्ने भए 

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो । 

प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । संसदीय छानबिन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । 

सभाको बैठकमा बोल्दै अध्यक्ष नारायणप्रसाद दाहालले सभाको परिस्थिति राजनीतिक रुपमा पेचिलो बन्दै गएको बताउनु भयो । अहिलेको स्थितिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्नेबारेमा गम्भीर बन्न जरुरी रहेको बताए । नीति तथा कार्यक्रम अवरोधका कारण छलफल हुन नसकेको बताए । 

पहिला संसदको लोगो फुकालेर सार्वजनिक सवारीसाधनमा चढ्नुपर्ने स्थिति रहेको भए पनि अहिले त्यो भन्दा गम्भीर स्थिति सिर्जना भएको उनको भनाइ छ । उनले भने, ‘जनताले बाटो–बाटोमा यी सांसदहरु भत्ता खाने र काम नगर्ने हुन् भनेर फोटो टाँस्ने स्थिति आइसक्यो ।’ 

राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते आईतवार बिहान साढे ११ बजे बस्नेगरी स्थगित भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update