News 24 Television
‘हनि हन्टिङ’ले चिनिएको अन्नपूर्ण गाउँपालिका

कास्की । फ्रान्सेली नागरिक एरिक भ्यालीले ३० वर्ष पहिले नेपाल आएर एउटा चलचित्र निर्माण गरेका थिए । जसको नाम थियो ‘हनि हन्टिङ’ अर्थात मह शिकार । त्यसयता नेपालका बिभिन्न जिल्लामा हुने हनि हण्टिङ अवलोकन गर्न विदेशी पर्यटकहरु नेपाल आउने गर्छन् । कास्कीको अन्नपूर्ण गाँउपालीकामा हरेक वर्ष हनि हन्टिङ महोत्सव नै गर्न थालिएको छ । 

दृष्यमा हेर्दै डरलाग्दो भीर देखिन्छ । केहि मानिसहरु बाँसको चोया बाटेर बनाईएको लठ्टोको भर्याङ जस्तोलाई मिलाउदै छन् । जसलाई पर्याङ भनिन्छ । झण्डै ५० मिटर लामो भर्याङलाई भिरमा खसालिन्छ । पुजाआँचा गरेपछि एकजना मानिस त्यही भर्याङको सहायताले भिर तर्फ झर्छन् । यो देख्दा के भैरहेको छ र किन यी मानिसहरुले भिरमा यो मेहनत गरेका होलान् भन्ने लाग्छ । यो हनि हन्टिङको तयारी हो अर्थात भिर मौरीको महको शिकारको तयारी भैरहेको छ ।

 भिरमा झरेका मानिसले तलबाट कोर्को पठाउँछन् । जसमा महको चाका हुन्छ । त्यसलाई एउटा भाँडोमा निचोरेर राखिन्छ । त्यही नै हो भिर मौरीको मह । कास्कीको अन्नपुर्ण गाँउपालीका ७ लान्द्रुकमा यसरी नै भिर मौरीको महको शिकार गर्न थालेको परापुर्वकालदेखि नै हो । तर तीन वर्ष यता भने महोत्सव नै आयोजना गरि भिर मौरीको मह शिकार गर्न थालिएको छ । जसको अवलोकन गर्न देशीविदेशी पर्यटकहरु लान्द्रुक पुग्ने गरेका छन् । 

तपाँई हामी भिर देख्दा समेत डराउने गर्छौ तर खड्गबहादुर मगर भने वर्षौ देखी भिरमा झुण्डीयर कत्तीपनि नडराई मौरीको घार काड्ने काम गर्छन् । ६० वर्ष उमेरका उनी २० वर्ष देखी निरन्तर हनि हन्टीङ गरिरहेका छन् । 

पहिला पहिला गाँउमा खेतीपाती हुनेहुँदा मह पनि धेरै नै संकलन हुन्थ्यो । तर पछिल्लो समय बसाइँसराईका कारण गाँउका जमिन बाँझै छन् । जसको असर भिर मौरीमा पनि परेको छ । बाली नहुँदा फूल कम फुल्ने र त्यसका कारण मौरीले मह उत्पादन कम गर्ने हुँदा विस्तारै भिर मौरी लोप हुँदै गएको चिन्ता व्यक्त गर्छन् खड्गबहादुर मगर । 

पछिल्लो समय हनि हन्टिङ महोत्सव नै आयोजना हुन थालेपछि यसप्रति पर्यटकको आकर्षण बढ्दो छ । हनि हन्टिङ महोत्सवलाई आगामी दिनमा पर्यटकिय पर्वको रुपमा अगाडी बढाई देश विदेशमा यसको प्रचार प्रसार गर्ने अन्नपूर्ण गाँउपालीकाको योजना छ ।  

भिर मौरीको मह शिकार पर्यटकिय हिसावले आकर्षणको केन्द्र त हो नै यो संगसंगै भिर मौरीको महको माग पनि उत्तीकै छ । भिर मौरीको महको सेवनबाट विभिन्न रोग निको हुने जनविस्वास छ । अहिले भिरभौरीको मह प्रतिमाना ३ हजारमा विक्री वितरण भैरहेको छ । तर जलवायु परिवर्तन र ग्रामिण क्षेत्रमा बालीनाली कम हुँदै गएकाले पनि भिरमौरी विस्तारै कम हुँदै गएका छन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update