काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला माघ ९, २०७९ मा इलामका प्रेम आचार्यले संसद भवन अगाडी नै शरीरमा पेट्रोल छर्किएर आफैँलाई आगो लगाए । सरकारविरुद्ध आचार्यको आत्मदाह विद्रोह निकै शक्तिशाली थियो । तर, एक नागरिकले आर्थिक संकटकाबीच गरेको विद्रोह सरकारको नजरमा परेन । आर्थिक पक्षमा संक्रमणकालीन अवस्थाले आत्महत्या गर्नेहरु पनि बढेका छन् । तर, सरकार ठोस नीति अझै बनाएको छैन । यी सबैका बीच सार्वजनिक भएका मन्त्रीहरूको सम्पति विवरणले ‘धनी मन्त्रीका गरिब जनता’ हुन् भन्ने प्रष्ट भएको छ ।
पछिल्लो तीन दिनयता कुन मन्त्रीहरूको कति सम्पति भन्ने विषय चर्चामा छ । आर्थिक मन्दीका कारण जनतालाई दुई छाक टार्न पनि मुस्किल परिरहेको अवस्थामा मन्त्रीहरूसँग भएको तोलाका तोला सुन र घरजग्गाका विषयमा चर्चा हुनु स्वभाविक पनि हो । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण तिर्न नसकेर निराशाकाबीच नागरिक आत्महत्या गर्न बाध्य छन् । मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा देशको आर्थिक स्थिती धेरै माथि हुनुपर्ने हो तर देशको हालत दिनहुँ खस्कँदै छ । जसका कारण नागरिकहरू मृत्यु रोजी रहेका छन् ।
दुई दिन अघिको यो घटना
भक्तपुरको छालिङ–७ घर भएका ५४ वर्षका कृष्ण नगरकोटी मंगलबार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा मृत भेटिए । सोमबार साँझ उनका छोरा रिचेन नगरकोटी घाइते भेटिएका थिए । रिचेनलाई उनका बुबा कृष्णले उनलाई दुईवटा ब्लेड दिँदै आत्महत्या गर्नु भनेका थिए । छोरी रश्मि नगरकोटी ट्याक्सीमा बसिरहेकी थिइन् । कोठा भाडा तिर्न नसकेर तीन महिनादेखि ट्याक्सीलाई घर बनाएका नगरकोटी परिवार जिन्दगीबाट दिक्दार भएर आत्महत्या गर्ने निर्णयमा पुगेका थिए ।
यो प्रतिनिधि घटनामात्र हो । नेपालमा दैनिक औषतमा १६ जनाले आत्महत्या गर्ने गरेका छन् । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई आत्महत्या बढि हुने गरेको प्रमुख देशको सूचिमा राखेको छ ।
राज्य जिम्मेवार
पछिल्लो समय आत्महत्या गरिबीसँग जोडिएको छ । व्यापारमा असफलता, बैंक तथा वित्तिय संस्था वा व्यक्तिबाट लिएको ऋण तिर्न नसक्दा, बेरोजगारी, आर्थिक संकट, अर्थतन्त्रमा आएको कमि बैदेशिक रोजगारी डिप्रेसनसँग जोडिएको अनुसन्धानले पनि देखाएको छ । आत्महत्या मानसिक स्वास्थ्यसँग जोडिएको विषय हो । तर अहिलेको अधिकांश आत्महत्याका घटनामा राज्यलाई जिम्मेवार ठहर्याउने अवस्था सिर्जना भएको छ । शिक्षा, स्वास्थ्य, गाँसबास आमनागरिकको पहुँचबाहिर जानु र बढ्दो बेरोजगारीले नागरिकलाई विकल्पहरू कम छन् भन्ने पर्न गएको छ ।
नागरिकको दैनिकी दयनिय बन्दा मन्त्रीहरूको करोडौंको सम्पतिमा आमनागरिकले आवाज उठाउनु स्वभाविक हो । काम गरिखाने वर्ग आर्थिक संकटको चपेटामा मात्रै परेको छैन, भोलि के हुने हो भन्ने भयले पिरोलिएको छ । विद्यार्थी, किसान, व्यापारी, कमर्चारीलगायत हरेक वर्ग, क्षेत्र, उमरलाई आत्महत्या विकल्प लागेको छ । जनताका लागि भन्दा पनि जनतामाथि नै राजनीति हाबी हुँदा जिविकापार्जनका विकल्प कम हुँदै छन् । राजनैतिक संरचना परिवर्तन भए जस्तै मानिसको दैनिक परिर्वतन हुन आवश्यक छ ।