News 24 Television
कैलाश सिरोहिया पक्राउ प्रकरणमा सत्तारुढ दलहरुमै फरक–फरक मत !

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न पक्षबाट भिन्न भिन्न तर्कहरु आइरहेका छन् । 

दोहोरो नागरिकता लिएको आरोपमा उजुरी परेपछि प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनको कार्यालयबाटै पक्राउ गरेको थियो । 

सिरोहियालाई संचारगृहबाटै पक्राउ गरिएपछि नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी र धेरैजसो मिडियाका सम्पादकहरुले यसको भत्र्सना गरिरहेका छन् । 

सिरोहियालाई दोहोरो नागरिकता प्रकरणमा पक्राउ गरिएपनि कान्तिपुरको विगतमा प्रकाशित समाचारहरुप्रति प्रतिशोध साँधेर सरकारले मिडिया हाउसबाटै गिरफ्तार गरेको भन्दै विभिन्न पक्षले भत्र्सना गरिरहेका हुन् । 

यसलाई पत्रकार महासंघ, मिडिया सोसाइटी तथा विभिन्न संचारमाध्यमहरुका सम्पादकहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भनेका छन् । 

बुधबार मात्रै विभिन्न संचारमाध्यमका ३१ सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए । 

सरकारबाट प्रेसलाई दवाव र त्रास देखिाइएको भन्दै रविमाथि पनि दोहोरो राहधानी र सहकारी ठगी प्रकरणमा  छानविन गराउनु पर्ने सम्पादकहरुले बुझाएको पत्रमा उल्लेख छ । तर उता गृहमन्त्री रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सिरोहिया पक्राउ प्रकरणलाई समर्थन गरेको छ ।  

पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  कानुनभन्दा माथि कोही नहुने बताएका हुन् । उनले कोही–कोहीलाई कानूनले छुनै हुन्न भन्नु सामन्ती र कायरता भएको टिप्पणी गरेका हुन् । 

संविधानबाट निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानवअधिकार, प्रेस स्वतन्त्रता, निष्पक्ष तथा सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणाका साथै लोकतान्त्रिक मूल्यमान्यताप्रति रास्वपा कटिबद्ध रहेकोसमेत विज्ञप्तिमा जनाइएको छ । 

सिरोहिया पक्राउ प्रकरणमा क–कस्ले के भने ? 

सिरोहिया पक्राउ परेको सम्बन्धमा विभिन्न पक्षबाट फरक फरक धारण आइरहँदा प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले भने अदालतको आदेश पालना गरिएको बताएका छन् । 

कुनै पनि विषयमा प्रतिशोध र पूर्वाग्रह नराखी सिरोहियालाई कानूनी प्रकृयाका लागि नियन्त्रणमा लिइएको प्रधानमन्त्रीले प्रतिकृया दिएका हुन् । यदी गल्ती नभए उनी चाँडै छुट्ने पनि प्रधानमन्त्रीको दावी छ । 

उता सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदबाटै घोर विरोध जनाएको थियो । गृहमन्त्रीले प्रतिशोधको भावनाले सिरोहियालाई पक्राउ गर्न लागिएको भन्दै त्यसप्रति काँग्रेसले कडा आलोचना गरेको थियो । त्यसपछि सभापति शेरबहादुर देउवाले पटि ट्वीट गर्दै सिरोहिया पक्राउप्रति आपत्ति जनाएका थिए । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् ।  सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरूपण हुने नभएपनि सरकारले गिरफ्तार गर्न अपनाएको शैलीलाई उपयुक्त ठान्न नसकिने अध्यक्ष लिङ्देनले टिप्पणी गरेका हुन् । राप्रपाले गृहमन्त्री रविमाथि पनि छानविन गरिनुपर्ने माग उठाइरहेको छ ।

यसैगरी सिरोहिया पक्राउ पर्ने वित्तिकै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालमार्फत सरकारले गल्ती गरेको उल्लेख गरेका थिए । उता सत्तापक्षकै कतिपय नेताहरुले पनि सिरोहिया पक्राउ परेको घटनाप्रति आपत्ति जनाइरहेका छन् । 

जसमा पूर्वप्रधानमन्त्री एवं सत्तसाझेदार दल नेकपा एसका अध्यक्ष माधव नेपालले सिरोहिया पक्राउ पर्नु निन्दनीय भनेका छन् । 

त्यस्तैगरी सत्तारुढ दल नेकपा एमालेका नेता भीम रावलले पनि सिरोहिया पक्राउ प्रकरणप्रति निन्दा गरेका छन् । आफूलाई लाग्दै आएको सहकारी ठगी प्रकरण छल्न गृहमन्त्रीले सिरोहियालाई पक्राउ गरेको रावलले टिप्पणी गरेका हुन् । 

सिरोहियाले कानून मिचेको भए कारवाही हुनुपर्ने तर रविले पनि कानून मिचेकामा छुट दिन नसकिने बताएका हुन् । त्यस्तै सत्तारुढ दल नेकपा एमाले नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेलले पनि सिरोहिया पक्राउ पर्नुलाई कान्तिपुरमाथिको प्रतिशोध भनेकी छन् । 

समाचार चित्त नबुझे मानहानी मुद्धा लगाउन सकिने । तर नागरिकता प्रकरणमा अभियुक्तलाई थुन्नै भने नहुने उनको भनाइ छ । सहकारी प्रकरणमा रविमाथि नेपाली काँग्रेसले संसद र सडकबाट आन्दोलन गरिरहँदा दोहोरो नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया पक्राउ परेका हुन् । 

यस विषयलाई कतिपयले राज्यले निरंकुशता लादेको टिप्पणी गरिरहेका छन् भने कतिपयले गल्ती गर्ने कसैलाई छुट दिन नहुने भन्दै सिरोहिया पक्राउ प्रकरणलाई जायज भनिरहेका छन् । 

उता प्रहरी नियन्त्रणमा रहेका सिरोहियालाई भने जिल्ला अदालत धनुषाले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update