काठमाडौँ । पर्वतीय क्षेत्रले विश्वको १५ प्रतिशतभन्दा बढी जनसंख्यालाई बास, गाँस र कपासको आधारशिलाको प्रत्याभूति गरेको छ । साथै ५० प्रतिशतभन्दा बढी वनस्पति र वन्यजन्तुलाई आश्रयस्थल प्रदान गरेको छ । तर, जलवायु परिवर्तनका कारण अन्य क्षेत्रभन्दा पनि पर्वतीय क्षेत्रले बढी समस्याको सामना गर्दै आएको छ । अझ, नेपाल जस्तो हिमश्रृंखलामय देशमा जलवायु परिवर्तनले जोखिम बढाएको छ ।
हिमालमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न नेपालले ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ गरेको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय (साब्टा) को ६०औँ सत्रमा आयोजना हुने हिमाल र जलवायु परिवर्तनसम्बन्धी विशेषज्ञको संवादमा पर्वतीय समस्या समाधान गर्न ठोस मार्गचित्र तयार गर्ने सरकारको अपेक्षा छ । आगामी कोप–२९ मा हिमालमा जलवायु परिवर्तन एजेण्डालाई प्रवेश गराई संस्थागत गराउने योजना रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटना बढ्दै गएका विभिन्न अध्ययनहरूले पनि देखाएको छ । हिमाली तथा टापु राष्ट्रहरूले तापक्रम वृद्धि, अनियमित वर्षा, खडेरी र मरुभूमिकरण, पहिरो, बाढी, डुबान, आगलागी, हिमनदी पग्लिने र समुद्री सतहको वृद्धिजस्ता सङ्कट सामना गर्नु परिरहेको छ । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भयावह रहेको छ । जुन नेपालका लागि न्याय नभएकाले मुलुकको नेतृत्वकर्ताले नै यसलाई उचित न्यायसम्म पुर्याउने प्रतिबद्धता गरेको बताइरहेका छन् ।
यता, जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्ने चिन्ता बङ्गलादेशको छ । जलवायु परिवर्तनको प्रभावले ल्याएका समस्या निराकरण गर्न राजनीतिक इच्छाशक्ति जरुरी रहेको सुझाव बङ्गलादेशको छ ।
जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रहरूमा हिउँ र हिमनदी पग्लिने दर तिब्र बन्दै गएको छ । पर्वतीय क्षेत्रका बासिन्दाहरुको संस्कृति, सम्पदा, ज्ञान र अभ्यासको विस्थापनबाट जलवायु प्रेरित प्रकोप र अन्य प्रभावहरूले पर्वतीय जीविकोपार्जनलाई गम्भीर असर पुर्याएको छ । जलवायु उत्थानशीलालाई सम्बोधन गर्न जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनमा ध्यान जान आवश्यक छ ।