News 24 Television
झन झनै तातियो काँग्रेस–रवि विवाद, सिरोहिया पक्राउपछि अझ उग्र 

काठमाडौं । पछिल्लो राजनीतिक परिदृष्यमा सत्ता पक्ष र प्रतिपक्षबीच गहिरो दुश्मनी बढेको छ । प्रतिपक्षले लगातार संसद अवरोध गर्दै आइरहेको छ भने सत्तापक्षले बल नै लगाएर नियमित कार्य अघि बढाइरहेको छ । खासमा सत्ता पक्ष र प्रतिपक्षबीच दुश्मनी हुनुमा रास्वपा र रवि मुख्य कारण हो । गत फागुन २१ गते सत्ताको नयाँ समीकरण बन्यो । यो सँगै काँग्रेस सत्ताच्युत भयो भने रवि नेतृत्वको रास्वपा सरकारमा आयो । 

नयाँ सरकारमा रविले उपप्रधानसहित गृहमन्त्रालय सम्हाले । त्यसपछि आफूले ओगटेको सत्तामा रास्वपाले स्थान लिएपछि काँग्रेस एकाएक रविसँग चिँढियो । त्यसैको प्रतिशोध स्वरुप काँग्रेसले संसदमा उग्रता मच्चाउन थाल्यो । 

आफू सरकारमा रहँदा रवि र सहकारी पीडितको न्यायको विषयलाई खासै प्राथमिकता नदिएको काँग्रेसले सत्ता बाहिर पुगेपछि सरकारलाई ढाल्न निरन्तर रविमाथि प्रहार गरिरहेको छ । 

यसक्रममा सरकार कायम रहन महत्वपूर्ण संख्या रहेको रास्वपालाई काँग्रेसले तारो बनाइरह्यो । फलतः श्रृङ्खलाबद्ध ढंगले संसद अवरोध देखि रविमाथि सहकारीको अरबौँ रकम अपचलनको प्रमाण रहेको दावी गर्दै संसदमा सनसनी मच्चायो । र, संसदीय छानविन समिति नबनेसम्म संसद नै नचल्ने चट्टानी अडान काँग्रेसले लिइरह्यो । 

लगातार खेदाइ र पटक पटकको संसद अवरोध पछि सत्तापक्ष संसदीय छानविन समिति बनाउन तयार भयो । तर समिति बनाउने सहमति भएपनि त्यसको क्षेत्राधिकारको विषयमा दुई पक्षबीच अझै समझदारी बन्न सकेको छैन । 

सत्ता पक्ष समग्र संकटग्रस्त सहकारीहरुको विषयमा अनुसन्धान गर्ने पक्षमा छ भने प्रतिपक्षी दल नेपाली काँग्रेस रविसँग जोडिएको भनिएका सहकारीको मात्रै छानविन गर्नुपर्ने अडामा छ । 

यो विषयले छानविन समिति बनाउने सहमति भएपनि कस्तो र कहिले बनाउने भन्ने विषय अन्योलमै छ । केही दिन अघि मात्रै महिनौ एकोहोरो आरोप खेपेर बसेका उपप्रधानमन्त्री रविले संसदबाट जवाफ फर्काए । 

सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गर्दै रविले नेपाली काँग्रेसमाथि केही संगिन आरोपहरु पनि लगाए । रास्वपाले काँग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नीदेखि छोरासम्को फाइल खोल्ने अभिव्यक्ति दिँदै आएको छ ।  यही अवस्थामा गृहमन्त्री रविले संसदबाटै काँग्रेसमाथि थप आरोप लगाएका हुन् ।  

संसदमा रविको सम्बोधनपछि काँग्रेस महामन्त्री गगन थापाले तत्काल पत्रकार सम्मेलन गरेर रविको अभिव्यक्तिमाथि आपत्ति जनाए । 

त्यसपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन बसको संसद बैठकमा पनि काँग्रेसले रविविरुद्ध नारा लगाएको थियो । यद्यपि विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए । यहीबीच गृहमन्त्री रवि लामिछानेले संसदबाट राजनीतिक दलसम्बन्धि विद्येयक फिर्ता लिए । 

यो विषयमा पनि प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विरोध गरिरहेको थियो । नेपाली काँग्रेसले सडक र संसदबाटै लगातार विरोध गर्दा गृहमन्त्री रविले पनि संसद र बाहिरबाटै अनौपचारिक रुपमा काँग्रेसलाई प्रतिजवाफ दिइरहेका छन् । 

सहकारी प्रकरण र विभिन्न विषयमा काँग्रेस र गृहमन्त्रीबीच संघर्ष चलिरहँदा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परे । यो विषयलाई लिएर पनि नेपाली काँग्रेले रविमाथि थप निशाना बढाएको छ । 

सिरोहीयाको विषयमा पनि यतिबेला काँग्रेस र रास्वपालबीच सवाल जवाफहरु उठिरहेका छन् । यस प्रकरणमा पनि नेपाली काँग्रेसले रविमाथि लगातार प्रहार गरिरहेको छ ।  

सिरोहिया पक्राउ प्रकरणलाई लिएर काँग्रेसले राणाशासनको झल्को दिएको भन्दै गृहमन्त्री रविले प्रतिशोध साँधेकोे टिप्पणी गरिरहेको हो । यसका अलावा अन्य संगठनहरुले पनि गृहमन्त्री रविमाथि विभिन्न टिप्पणी गरिरहेका छन् । 

उता रवि सत्तामै रहेको बेला सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको प्रकरणमा उजुरी परेको र सोही विषयमा सिरोहिया पक्राउ गरेको अवस्था छ । 

यसलाई लगातार मिडिया हमला भएपछि रविले सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरेको भन्ने पक्ष पनि देखिँदै आएका छन् । तर जे होस् सहकारी, संसद अवरोध देखि आएर सिरोहिया पक्राउ प्रकरणसम्म आइपुग्दा काँग्रेस र रविबीचको दुस्मनी निकै गहिरो तहसम्म पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update