News 24 Television
सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा पुर्याइयो

काठमाडौं । नागरिकता कीर्ते मुद्दामा काठमाडौंमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषा पु-याइएको छ । 

स्थलमार्ग हुँदै उनलाई बुधबार बिहानै धनुषा पु-याइएको हो । सिरोहियालाई प्रहरीले मंगलबार कान्तिपुर मिडिया ग्ररुपको केन्द्रीय कार्यालय थापाथलीबाट पक्राउ गरेको थियो । 

प्रहरीले आजै सिरोहियालाई सरकारी वकिलको कार्यालयमार्फत धनुषा जिल्ला अदालतमा पेस गर्ने तयारी गरेको छ । प्रहरीले अदालतबाट थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्ने जनाइएको छ । नागरिकता कीर्ते मुद्दामा पक्राउ परेपनि अध्यक्ष सिरोहियाले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।

सिरोहिया पक्राउप्रति विपक्षी दलहरू र विभिन्न प्रेस संगठनहरुले पनि विरोध जनाएका छन् । सिरोहियालाई गृहमन्त्री रवि लामिछानेले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको उनीहरुको टिप्पणी छ । 

अध्यक्ष सिरोहियाले फरक–फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको आरोपमा उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । 

धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update