काठमाडौं । गृहमन्त्री रविलामिछानेले आफूमाथि लाग्दै आएको सहकारी ठगी प्रकरणको विषयमा आइतबार संसदबाट प्रष्टिकरण दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रविको नाम दुई महिनाअघि देखि नै सहकारी ठगी प्रकरणमा जोद्दै आएको थियो । त्यही विषयलाई प्रष्ट पार्न रवि झण्डै दुई महिना देखि उपयुक्त वातावरणको परखाइमा थिए ।
संसदमा लागेको आरोपको जवाफ संसदबाटै दिने आकांक्षा बोकेका रविलाई प्रष्टिकरण दिनका लागि नेपाली काँग्रेसले आइतबार मौका दिएको हो । तर काँग्रेसले प्रष्टिकरण दिनुअघि रविविरुद्ध संसदीय छानविन समिति बनाउनुपर्ने काउण्टर शर्त राखेको थियो ।
उक्त शर्तहरुमा सबै दल सहमति भएपछि आइतबार गृहमन्त्री रविले आफूलाई लागेको आरोपमाथि प्रष्टिकरण दिए । प्रष्टिकरणमा रविले नेपाली काँग्रेसले सत्यता र तथ्यलाई भन्दा पनि बढी निधाराधार आरोपलाई लगाएर आफूविरुद्ध मिडिया ट्रयाल गरेको आरोप लगाएका थिए । तर रास्वपा हेडलाइनसँग नडराउने र मिडियालाई प्रयोग गरेर भइरहेको खेदसँग पनि नझुक्ने रविले जवाफ दिए ।
आफूलाई प्रधानमन्त्री बन्न गरेको प्रस्तावको समेत प्रशंग निकाल्दै रविले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई संसदबाटै प्रश्न गरेका थिए ।
छानविन समितिको माग गर्दै नैतिकताको प्रश्न गर्ने काँग्रेसले आफूलाई प्रधानमन्त्री बन्न भने कसरी योग्य देखेछ भन्दै उनले प्रति प्रश्न गरेका हुन् ।
गृहमन्त्रीले संसदमा दिएको प्रष्टिकरणपछि संसद निर्वाद रुपमा चल्ने र दलहरुबीच उपयुक्त समझदारी बन्ने अपेक्षा लिइएको थियो । तर रविको प्रष्टिकरणपछि संसद र राजनीति अझ विकराल बन्ने स्थितिमा पुगेको छ ।
संसदमा रविले आफूमाथि लागेको आरोपको तथ्यगत प्रष्टिकरणका अलावा प्रतिपक्षी दलका अन्य नेताहरुमाथि पनि गम्भीर टिप्पणी गरेका थिए ।
यही विषयलाई लिएर काँग्रेस महामन्त्री गगन थापाले आइतबार नै तत्काल पत्रकार सम्मेलन गरेर काउन्टर जवाफ दिने प्रयास गरेका थिए ।
पत्रकार सममेलनमा गगनले गृहमन्त्री रवि विभिन्न काण्ड देखाएर काँग्रेससँग बार्गेनिङ गरिरहेको जिकिर गरे । संसदमा रविले दिएको अभिव्यक्ति र प्रस्तुतिप्रति नेपाली काँग्रेस आक्रोशित बनेको छ । अन्य दलहरुबारे केही टिप्पणी नगरेर आफ्नो दलमाथि मात्रै बोलेको बुझाइमा रविलाई नेपाली काँग्रेसले थप निशाना बनाएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा अनुसन्धान गर्ने वा नगर्ने भन्ने विवाद दलहरुबीच थियो । यसले दलहरुबीच विमत्तिसमेत सिर्जएको अवस्थामा यो प्रष्टिकरणले समस्याको हल हुने अपेक्षा लिइएको थियो । तर रविको अभिव्यक्तिपछि संसद र राजनीतिमा दलहरुबीच अझ चिसोपना छाएको छ ।
रविको प्रष्टिकरण अघि संसदीय छानविन समिति बन्ने लगभग निश्चित भएको थियो । तर यो समितिको क्षेत्राधिकार के कति तोक्ने भन्ने विषयमा दलहरुबीच अझै समझदारी बन्न सकेको छैन ।
यही अवस्थामा यता गृहमन्त्रीले संसदमा दिएको प्रष्टिकरका कारण प्रतिपक्षी दल अझ विच्किएको छ । यसकै कारण नेपाली काँग्रेसले सोमबारको पहिलो संसद बैठक पनि अवरोध गरेको छ ।
गृहमन्त्रीले प्रष्टिकरण दिँदा अव्यवहारिक ढंगले व्यक्तिगत टिप्पणी गरेको भन्दै काँग्रेस नेताहरुसमेत आक्रामक बनेका छन् ।