News 24 Television
सशस्त्र प्रहरीका प्रशिक्षार्थी अधिकृतहरूले गरे बञ्जी

काठमाडौँ । सशस्त्र प्रहरी बलको 'सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम'का प्रशिक्षार्थी अधिकृतहरूले कुष्मामा रहेको 'द क्लिफ'मा बञ्जी गरेका छन् ।

राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थले ४५ जना प्रशिक्षार्थी अधिकृतहरुको तालिम कार्यतालिकाको साहसिक तालिम प्याकेज अन्तर्गत मंगलबार बञ्जी जम्प गराइएको तालिम संयोजक सशस्त्र प्रहरी निरीक्षक रमेश घिमिरेले जानकारी दिए ।

विगतमा पनि अधिकृत स्तरका प्रशिक्षार्थीहरूलाई साहसिक प्याकेज दिने गरिएकोमा यसपटक बञ्जी थपेर झनै साहसिक अनुभव दिलाइएको उनले बताए ।

क्लिफका अध्यक्ष राजु कार्कीले सशस्त्र प्रहरी बलको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

69d2c6f6-16bb-41f3-92b6-b5f7cb02bb5d-1716289707.jpg
 

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ ।

पछिल्लो समय एडभेञ्चर हबको रुपमा बिकास हुँदै गएको द क्लिफमा साहसिक गतिविधि खेल्नका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

यसअघि नेपाल प्रहरीका विभिन्न तालिम अन्तर्गत विभिन्न समूहले क्लिफमा बन्जी गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update