पोखरा । विद्यार्थी संख्याका हिसाबले देशको दोस्रो ठुलो विश्वविद्यालय हो पोखरा विश्वविद्यालय । केन्द्रीय क्याम्पससहित विभिन्न आङ्गिक क्याम्पसमा विभिन्न तहको अध्ययन अध्यापन गर्दै आएको पोखरा विश्वविद्यालयले आफ्नै शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । स्कुल अफ हेल्थ एण्ड एलाइट साइन्स अन्तर्गत स्नातक तहमा बीएनएफ र बीएस्सी नर्सिङ तथा बीफार्मेसी, बीपीएच र बीपीटी कार्यक्रम सञ्चालन गर्दै आएको पोखरा विद्यालयले यसै शैक्षिक सत्रदेखि हेल्थ साइन्समा पीएचडी कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ ।
स्थापनाको २५ वर्ष पार गरिसकेको पोखरा विश्वविद्यालयले २०८० चैत्र २१ गते गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको सञ्चालन अनुमति प्राप्त गरेको थियो । मन्त्रालयले विभिन्न सर्तहरु पालना गर्नेगरि ६ महिनाका लागि १०० शैयाको अस्पताल सञ्चालनको लागि अनुमति पाएको थियो । मन्त्रालयले तोके बमोजिमको मापदण्ड पुरा गरेपछि विश्वविद्यालयले पूर्ण रुपमा शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । मेडिकल साइन्स सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आफ्नै शिक्षण अस्पताल नरहेको पोखरा विश्वविद्यालयले पहिलो पटक पोखरा महानगरपालिका वडा नं. ३० खुदीको विश्वविद्यालय परिसरमा शिक्षण अस्पताल सञ्चालनमा ल्याएको हो ।
आकस्मिक सेवा, जनरल वार्ड, क्याविन, प्रयोगशाला, फार्मेसी लगायतका सेवा सञ्चालन थालेको शिक्षण अस्पतालमा पहिलो चरणमा ४० चिकित्सक तथा कर्मचारी रहेका छन् । चिकित्सकसहित २०० कर्मचारीको दरबन्दी रहेको शिक्षण अस्पतालमा दुई वर्ष भित्रमा ३०० सैयाको मेडिकल कलेज सञ्चालन गर्ने गरि कामहरु अगाडि बढाएको विश्वविद्यालयले जनाएको छ ।
अस्पतालको उदघाटनसँगै पोखरा महानगरपालिकाले सक्ने सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको छ भने स्वास्थ्य बिमा कार्यक्रमलाई पनि गुनासोरहित बनाउन प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले निर्देशन दिएका छन् ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राचार्य डा. प्रेमनारायण अर्यालले यो अस्पताल विद्यार्थीको अध्ययनका लागि मात्र नभई सिंगो गण्डकी प्रदेशका जनताको जनस्वास्थ्यका लागि खट्ने तथा स्वास्थ्य सम्वन्धि विभिन्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पोखरा विश्वविद्यालयको स्नातक तथा स्नाकोत्तर तहसमेत विभिन्न हेल्थ साइन्सका कार्यक्रम सञ्चालन गरे पनि आफ्नै शिक्षण अस्पताल नहुँदा अन्य विश्वविद्यालयको शिक्षण अस्पतालमा प्राक्टिकलका लागि जानुपर्ने बाध्यता हटेको छ । पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याएसँगै पोखरामा शिक्षण अस्पतालको संख्या ४ पुगेको छ ।