काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेमाथि निष्पक्षताको प्रश्न उठ्न थालेको छ । सभामुख घिमिरेले संसदमा निष्पक्षता अपनाउन नसकेको भन्दै प्रतिपक्षी दलले आरोप लगाउदै गर्दा एमालेबाहेक सत्ता पक्षका अन्य घटकले भने सभामुखलाई बलियो साथ दिएको देखिदैन । तर, यस्तो परिस्थितिमा पनि सभामुख किन असफलताको बाटोमा उन्मुख बन्न खोज्दैछन् त ?
सभामुख संसद बैठकमा रेफ्रीको भूमिका निर्वाह गर्नुपर्ने पात्र हुन् । सभामुखको क्षमताले नै संसद चलायमान बन्ने र नतिजा दिने हो । तर, संसद कानून निर्माणभन्दा पनि सत्ता दाउपेचमै संलग्न हुने र त्यसमा सभामुख पनि सत्ताको पछि लुरुलुरु कुद्ने गर्नाले उनको भूमिकामाथि प्रतिपक्षी दलहरुले प्रश्न उठाइरहेका छन् ।
राप्रपाले सभामुखको कुस्रीमा पार्टीको कार्यकर्ता देखेको आरोप लगाएको छ । राप्रपाले मात्रै सभामुखमाथि प्रश्न गरेको छैन्, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत कडा शब्दमा सभामुखमाथि प्रहार गरेको छ । सभामुखले निष्पक्षता अपनाउन नसकेको मात्रै कांग्रेसको आरोप छैन्, पदीय गरिमा अनुकुल व्यवहार नभएको ठहर गरेको छ ।
प्रतिपक्षले मात्रै सभामुखमाथि प्रश्न भने उठाइरहेको छैन् । सत्ता पक्षले समेत स्व. सुवासचन्द्र नेम्वाङलाई स्मरण गर्दै सोमबारको घटनालाई असामान्य भनेको छ । सभामुखमाथि प्रश्न उठदै गर्दा एमालेले भने सभामुखसँग अरु विकल्प नभएको भन्दै वचाउ गरिरहेको छ ।
के गरे सभामुखले ?
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षलाई पेलेरै जवाफ पेश गर्ने गरेका छन् । संसद चलाउने र कार्यक्रम तय गर्ने तजबिजी आफ्नो भएको सन्देश दिएका उनले वेल घेराउ गर्दा पनि सत्ता पक्षका नेताहरुको ईशारा बुझ्ने कोसिस गर्ने गर्छन् । सत्ता पक्षको ईशारा नबुझेसम्म संसद चलाउने गर्नाले केहिदिन पहिले संसदमा धकेलाधकेल नै भयो ।
प्रतिपक्षी दलहरु एकजुट बनेर संसदीय समितिको मागसहित वेल घेराउमै उत्रिएपछि सरकारलाई विवाद मिलाउन निर्देशन दिनुको सट्टा सहजीकरणमा उत्रिने गर्छन् । विश्वासको मत लिने प्रयोजनमा डाकिएको बैठकमा अवरोधकाबीच पनि प्रक्रियामा जाने काम गर्नाले उनीमाथि प्रश्न स्वभाविक रुपमा उठेको छ । विश्वासको मत लिने सोमबार अन्तिम समय पनि नभएको स्थितिमा किन यस्तो कदम चाल्न उनी उद्दत बने भन्ने प्रश्नको जवाफमै उनलाई दलीय चिन्तनबाट निस्किन नसकेको आरोप लाग्न थालेको छ ।
असफलताको बाटो
सभामुख बन्नु र राज्यको उच्च ओहोदामा बस्नुमात्रै सफलताको विषय मान्न सकिन्न । सभामुख बनिसकेपछि सबै पक्षलाई मिलाएर संसदका सबैखाले गतिरोध अन्त्यको प्रयास गर्ने र सहज ढंगले कानून निर्माणमा योगदान दिनुपर्ने हन्छ । तर, आफ्नो पूर्ववत् पार्टीको निर्देशनलाई शिरोपर गर्न थालेपछि भने अवस्था थप बिग्रिने हो । प्रतिपक्षले माग गरिरहेको विषयलाइ संसदमा प्रवेश गराइसकेपछि त्यसको निराकरणमा सभामुखले दबाब दिन सक्नुपर्छ । अन्यथा सभामुखको कार्यकाल सफताबाट असफलतातर्फ लम्किन कसैले रोक्न सक्ने देखिन्न् ।