News 24 Television
बाग्मती प्रदेश : भागबण्डा मिलाउन २ मन्त्रालय थपिया

मकवानपुर । प्रदेशमा आर्थिक भार थपिएको भन्दै मुख्यमन्त्रीको शपथ लगत्तै मन्त्रालयको संख्या घटाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डेढ बर्ष नबित्दै मन्त्रालयका संख्या १३ पुर्याएका छन् । २६ पुस २०७९ मा मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका मुख्यमन्त्री जम्मकट्टेलले राजनीतिक भागवण्डा मिलाउन यो अवधिमा दुईवटा मन्त्रालय थपेका हुन् । 

बागमती प्रदेश सरकारको अघिल्लो कार्यकालको अन्तिममा १४ मन्त्रालय रहेको बागमतीमा तीन मन्त्रालय कटौती गर्दै ११ मन्त्रालय बनाइएको थियो । तर केन्द्रीय सत्ता समीकरण फेरबदलको अप्ठेरोमा परेको प्रदेशमा दलीय भागबण्डा पुर्याएर आफ्नो नेतृत्व टिकाइराख्न मुख्यमन्त्रीले मन्त्रालय थप्ने बाटो समातेको चर्चा छ । १२ मन्त्रालय रहेको प्रदेशमा १३ मन्त्री नियुक्त गरिपछि मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिन बुधबार मात्रै सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइयो । भागबण्डा मिलाउन मन्त्रालय नै फुटाएर राज्यलाई भार थपेको भन्दै प्रतिपक्षी दलहरु रुष्ट छन् ।  

त्यसोत, यसअघि माओवादी केन्द्र, कांग्रेस लगायत दलको सत्ता गठबन्धन हुँदा भागवण्डा मिलाउन उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय थपिएको थियो । उतिबेला मन्त्रालय घटाउन चर्को दबाब दिएको एमाले सरकारमा आएपछि उसैले एक मन्त्रालय थप्ने निर्णयमा हस्ताक्षर गर्यो ।  

१२ मन्त्रालयमै आफूलाई अटाएमा कार्यभार सम्हाल्ने, नत्र मन्त्री पदबाटै राजीनामा दिने निर्णय गरेकी तत्कालिन बिना विभागीय मन्त्री रमा आलेमगर यतिबेला मन्त्रालय संख्या बढाएरै भएपनि कार्यभार सम्हाल्न आइपुगिन् । आफ्नै अभिब्यक्तिले मन्त्री मगरलाई यतिबेला अप्ठ्यारो पारेको छ । भने राजनीतिक परिस्थितीले अनेक मोड लिएका कारण आफ्नो निर्णयमा टिक्न नसकिएको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको स्वीकारोक्ति छ । 

बागमतीमा हाल मुख्यमन्त्रीसहित माओवादीको भागमा ४ मन्त्रालय छ । एमालेले अर्थ मन्त्रालयसहित ५, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका एक मन्त्री छन् । मुख्यमन्त्रीको शाख जोगाउनका लागि विश्वासको मत लिएपिच्छे मन्त्री थप्दै लानुपर्ने बाध्यतामा रहेका मुख्यमन्त्री जम्मकट्टेलले गत १९ चैतमा पनि समर्थन नपुग्ने देखिएपछि नेकपा एसकी आलेमगरलाई मन्त्री नियुक्त गरेका थिए । आलेमगरलाई जिम्मेवारी दिनकै लागि एक मन्त्रालय थप्दा बागमतीमा मन्त्रालयको संख्या १३ पुगेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update