News 24 Television
संसदमा गृहमन्त्रीको जवाफ– ‘आरोप लागेका सबैको छानबिन गरौँ’  

काठमाडौँ । सहकारी ठगी प्रकरणबारे संसदीय समिति बन्ने दलहरुबीचको सहमतिपछि आइतबार प्रतिनिधिसभाको बैठक बसेको छ । विहान ११ बजे बस्ने तय भएको बैठक सहमतिका लागि भन्दै सारिँदै आएको थियो । बेलुका साढे ६ बजे शुरु भएको बैठकमा गृहमन्त्री रवि लामिछानेले संसदमा आफूमाथि लागेको आरोपको जवाफ फर्काएका छन् । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झण्डै एक महिनादेखि संसद अवरुद्ध गर्दै आएको थियो । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति बनाउनुपर्ने शर्त कांग्रेसले राख्दै आएको थियो । 

कांग्रेसको आरोपमाथि आफूले जवाफ दिन पाउनुपर्ने भनी गृहमन्त्री लामिछानेले संसद सचिवालयमा पत्र नै पठाएका थिए । कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न समेत नदिएर संसद अवरुद्ध गर्दै आएको थियो । सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे संसदीय छानबिन समिति नबनेसम्म संसद चल्नै नदिने अडानपछि शनिवार बेलुका सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीच सहमति बनेको थियो । 

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको सहमतिपछि टिओआर बनाउन भन्दै कानून मन्त्री पदम गिरीको संयोकत्वमा ४ सदस्य कार्यदल गठन भएको थियो । कार्यदलमा दिनभरीको बहसपछि आइतबार बेलुका मात्रै शुरु भएको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लागेको आरोप मात्र नभई अरु नेतामाथि लागेको सबै आरोपको पनि संसदीय समिति बनाउनुपर्ने प्रस्ताव गरेका छन् । 

संसदको रोष्टममा उभिएर लिखित रुपमा नै जवाफ दिएका गृहमन्त्री लामिछानेले विगतमा भएका सबैं आरोपहरुको फाइल खोल्ने समेत चेतावनी दिएका छन् । चर्को रुपमा संसदमा प्रस्तुत भएका लामिछानेले अब अन्तिम घण्टि नभई शुरुवाती घण्टी भएको बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लामिछानेले दिएको जवाफ सुन्ने र त्यसपछि मात्रै आफ्नो धारणा बनाउने भनेको कांग्रेस नेताहरु रुष्ट भएका छन् । गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुलाई नै लक्षित गरी भ्रष्टाचारको आरोप लगाएपछि उनीहरु थप आक्रोशित भएका छन् । गृहमन्त्री लामिछानेको जवाफ पछि सभामुख देवराज घिमिरेले आइतबारका अन्य सबै कार्यसूची हटाएको बताएका थिए । 

गृहमन्त्रीको जवाफपछि कांग्रेस नेताहरुले बोल्न नपाएको पनि नेताहरु रुष्ट भएका हुन् । संसद भवन भित्रै कांग्रेस महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गरेका छन् । उनले गृहमन्त्रीको आरोपको खण्डन गरेका छन् । यसले नेताहरुबीच वारको पारको स्थिति देखा परेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update