काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा उग्र व्यवहार देखाइरहेको छ । आरोप लागेका गृहमन्त्री छामिछानेले आफू संसदमै उभिएर आरोपबारे बोल्न पाउनुपर्ने माग राखेको धेरै दिन भइसक्दा पनि काँग्रेसले बोल्नै नपाउने अडान राखेको छ । यद्यपि सत्तारुढ दल एमाले, माओवादी केन्द्र लगायत प्रतिपक्षी दल राप्रपा समेत गृहमन्त्रीले आरोपबारे संसदमा बोल्न पाउनुपर्ने पक्षमा छन् ।
बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले रविले बोल्न पाउनुपर्ने, बरु काँग्रेसलाई समेत बोल्न निषेध गर्ने चेतावनी दिएका थिए । सोही बमोजिम बिहीबार रविलाई बोल्न दिनेबारे काँग्रेस लगायत प्रमुख दल र रास्वपाबीच छलफल र सहमतिको प्रयास भएको थियो । तर संसदीय छानबिन गठनमा कुरा नमिल्दा सहमति भाँडियो । त्यसपछि बिहीबार अबेर बसेको प्रतिनिधसभा बैठकमा काँग्रेस सांसदहरुको नाराबाजीका बीच सभामुख देवराज घिमिरेले रविलाई बोल्न समय दिएपछि एमाले–काँग्रेस झडपको स्थिति सृजना भयो ।
शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा जोड दिएको छ । नेपाली काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठकमा राप्रपाले सो कुरामा जोड दिएको हो । गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्छ भन्ने कुरा आफूहरुले बैठकमा राखेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । शुक्रवार संसद भवन परिसरमा काँग्रेससहितका विपक्षी दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूहरुले संसदीय छानबिन समिति बनाएर सहकारी ठगी छानबिन गर्नुपर्ने कुरा राखेको बताए ।
उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली काँग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ ओलीमाथि खनिएका थिए । झण्डै हातपातको स्थिति देखिएको उक्त व्यवहार असभ्य भएको ओलीको भनाइ छ । बिहीवारको बैठकमा गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न सभामुखले समय दिएसँगै काँग्रेसले रोष्टममा जान नदिएपछि अध्यक्ष ओलीले लामिछानेलाई सुटुक्क उठेर रोष्टममा जान इसारा गरेका थिए । ओलीको इसारा देखेपछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औँला ठड्याउँदै चर्को स्वरमा नारा लगाएका थिए । यस घटनामा प्रतिक्रिया दिँदै शुक्रबार ओलीले काँग्रेस उत्ताउलो बनेर सत्तापक्ष र मन्त्रीहरु बसेको रोमा आएको बताए ।
तर प्रमुख प्रतिपक्षी दल काँग्रेसले चाहिँ सभामुख पार्टीको रवैयामा उत्रिँदा बिहीबारको घटना भएको बताएको । शुक्रवार बसेको काँग्रेस संसदीय दलको बैठकले सरकार र सत्ता पक्ष सहकारी ठगलाई बचाउन लागिपरेको आरोप लगाएको थियो । काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकका निर्णय सुनाउँदै गृहमन्त्री लामिछाने सहकारी ठगीमा दोषी रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताए । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको उनको भनाइ छ ।
यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने व्यवस्था छ । तर प्रमुख प्रतिपक्षी दल कांग्रेसको लगातार संसद अवरोधका कारण बजेट ल्याउन सरकारलाई चुनौती हुने देखिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन विभिन्न प्रयास जारी राख्दा पनि स्थिति झनै उग्र भइरहेको छ । शुक्रबार पनि सत्ता पक्षका दल र प्रतिपक्षी दलहरुबीच बेग्लाबेग्लै छनफल भयो । तर माहोल साम्य हुने अवस्था नदेखिँदा शुक्रबार बस्ने भनिएको संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।