News 24 Television
विद्यालय नर्स राखेपछि विद्यालयहरुमा देखिएको परिवर्तन

काठमाडौं । सरकारले महत्वका साथ ५ बर्षअघि सुरुआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालयमा पढाइ भइरहेकै समयमा विद्यार्थीलाई स्वास्थ्य समस्याको प्राथमिक उपचारका साथै विद्यार्थीलाई स्वास्थ्य शिक्षाबारे जानकारी दिइने भएकोले बालबालिकाको सामाजिक ब्यवहार परिर्वतनको लागि कार्यक्रमको सकारात्मक प्रभाव देखिएको छ । 

छात्राहरु मात्र अध्ययन गर्ने काठमाडौको डिल्लीबजारस्थित पदमकन्या विद्याश्रम माध्यामिक विद्यालयमा हरेक दिन कुनै न कुनै विद्यार्थीलाई स्वास्थ्य समस्या देखिन्थ्यो । 

कोही टाउँको दुख्यो, कोही पेट दुख्यो भन्दै विद्यार्थीहरु पढ्नै छाडेर घर जान्थें । महिनावारी हुँदा त छात्राहरु विद्यालय नै आउदैन थिए । तर अहिले यो समस्या अहिले करिबकरिब समाधान भएको छ । विद्यार्थीहरु आफूलाई कुनै स्वास्थ्य समस्या देखिएमा विद्यालय नर्सको कक्षमा पुग्छन् ।

आफ्नो समस्या नर्सलाई सुनाउछन् । जसले विद्यार्थीको स्वास्थ्य समस्या समाधान त भएको छ नै,  अनुपस्थित हुने दर समेत घटेको छ । छात्राहरु यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा पनि खुलेर कुरा गर्न गर्न सक्ने भएका छन् । 

१८ सय विद्यार्थी अध्ययन गर्ने बानेश्वरको रत्नराज्य माध्यामिक विद्यालयमा पनि विद्यालय नर्सका कारण विद्यार्थी बीचैमा पढाई छाड्ने दरमा कमी आएको छ । 

विभिन्न स्वास्थ्य समस्या देखाउदै यो विद्यालयमा दिनहँु करिव १ सय विद्यार्थी अनुपस्थित हुने गर्थे । महिनावारी भएको समयमा छात्राहरुको विद्यालयमा अनुपस्थित हुने दर निकै बढी थियो । तर विद्यालयमा अहिले यो समस्या छैन भन्दा पनि हुन्छ । 

शिक्षकसँग खुलेर कुरा गर्न नसक्ने वा विभिन्न समस्यामा रहेका विद्यार्थीहरु नर्ससँग भने खुलेर कुरा गर्ने गरेका छन् । यसले गर्दा पनि विद्यार्थीमा देखिएका स्वास्थ्य सम्बन्धी समस्या प्रारम्भिक चरणमै पत्ता लाग्ने गरेको छ । 

विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यलाई सवल कायम राख्ने र विद्यालय छाड्ने दर कम गराउने उद्देश्यले ५ वर्ष अघि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । २०७६ सालमा बागमती प्रदेशले १३ जिल्लाका २० विद्यालयबाट एक विद्यालय एक नर्स कार्यक्रम सुरु गर्यो । हाल बागमती प्रदेशका ५ सय १९ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालनमा छ । बागमती प्रदेश सहित देशभरका १ हजार ११ विद्यालयमा मात्रै विद्यालय नर्स राखिएको छ । 

विद्यालय नर्सले विद्यार्थीको सामान्य स्वास्थ्य परीक्षणसँगै मानशिक तथा स्वास्थ्य सम्बन्धी सचेतना दिने गरेकाले विद्यार्थीहरु पढाइसँगै शारीरिक तथा मानशिक स्वास्थ्यप्रति पनि सचेत हुन थालेकाले विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update