काठमडौं । वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ ।
वन तथा भू–संरक्षण विभागका अनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो । वर्सेनि वनमा डढेलो लाग्दा हुने गरेको नोक्सानीको भने वेवास्ता भइरहेको छ । स्रोतसाधन अभावमा औसतमा वार्षिक ७ जनाको डढेलोका कारण मृत्यु हुने गरेको छ ।
करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ । वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ ।
स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौगोलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या हुने गरेको छ ।
डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ ।
आर्थिक वर्ष २०८०\८१ मा भएका आगलागीका घटना
देशभर ५ हजार १८ आगलागीका घटना
एक सय ३२ जनाको मृत्यु
२० हजार ४ सय ८७ चौपाया क्षति
१ हजार ८ सय १८ घरमा पूर्ण क्षति
१ हजार ८२ गोठ जले
डढेलोका कारण लोपोन्मुख बोटबिरुवा, पशुपन्छीको अस्तित्व पनि सङ्कटमा पर्दै गएको छ । डढेलोका कारण पानीको मुहानमा समेत असर परिरहेको छ । वर्षेनी वनमा डढेलो लाग्दा वन, वातावरण र जैविक विविधतामा अनेकौं समस्याहरु थुप्रिरहेका छन् ।
मानवीय हेलचेक्र्याइँका कारण डढेलो लाग्ने गरेको पाइन्छ । खेतबारीमा भएका पातपतिङ्गर र झारमा आगो लगाउँदा जमिन मलिलो हुन्छ र खेतीबाली सप्रिन्छ भन्ने भ्रमले गर्दा पनि आगो लगाउने प्रवृत्ति छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १६ वर्षको अवधिमा ४३ हजार ९५ ठाउँमा डढेलो लागेको छ ।
प्राधिकरणका अनुसार औसतमा वार्षिक ७ जनाको डढेलोका कारण मृत्यु हुने गरेको छ भने ६ जना घाइते हुने गरेका छन् ।
यो तंथ्याकले डढेलो तथा आगलागी संवेदनशील विषय भएको प्रष्ट हुन्छ । सरकार गम्भीर भएर पूर्व तयारीमा जोड दिन आवश्यक छ भने समुदायहरू सजग हुन जरुरी छ ।