News 24 Television
सन्दीपबारे फैसलाले टरेन खतरा, सडकबाटै के हुँदैछ ? 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएसँगै खेल जीवनमा सक्रिय बन्ने उद्घोष गरिसकेका छन् । 

बलात्कार प्रकरणमा सफाई पाएका सन्दीपमाथि धेरैको आशा पनि छ । तर, लामो समयसम्म मैदानबाहिर रहेका सन्दीपलाई नेपाल क्रिकेट संघले खेलमा फर्काउने भन्दै गरेको निर्णय र अदालतको फैसलामा प्रश्न र आलोचना भने सहतमै छन् । 

तत्कालीन नेपाली क्रिकेट राष्ट्रिय टिमको कप्तान रहेकै बेला सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लाग्यो । बलात्कार आरोप लागेपछि विदेशमै लामो समय लुकेर बसेका सन्दीप इन्टरपोलमार्फत प्रहरीले झिकाउने सूचना पाएपछि आफै नेपाल फर्किए । 

त्यसपछि उनको हिरासत बसाई हुन पुग्यो । बलात्कार आरोपमा मुद्दा अदालतमा विचाराधीन रहेकै बेला उनीमाथि उच्च अदालत र सर्वोच्च अदालतले विभिन्न चरणमा सुविधा दिए । 

ख्यातिप्राप्त खेलाडी भन्दै अदालतले गरेका फैसलापछि उनी बलात्कार आरोप बोकेरै मैदानमा फर्किए । मैदानमै रहेको बेला काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि उनी फेरि मैदानबाहिर पुगे । 

बलात्कार आरोपमा दोषी करार भएपछि नेपाल क्रिकेट संघले सन्दीपले टिम छाडेको पत्र पठाउन्जेलसम्म कु¥यो । पत्र आएपछि क्यानले निलम्बनको निर्णय लियो । 

क्यानले सन्दीपलाई खेलमा फर्काउन राम्रो भूमिका निर्वाह गरिरहेकै बेला दोषी ठहर भएपछि मैदानबाहिर रहेका सन्दीपले उच्च अदालत पाटनबाट सफाई पाए । सफाई पाएपछि खुशी साट्दै उनले मुलुकका लागि केहि गर्ने प्रण समेत दिए ।

यता अदालतले सन्दीपलाई सफाई दियो उता क्यानले हतार–हतारमा उनको निलम्बन फुकुवाको निर्णय सार्वजनिक ग¥यो । 

निलम्बन फुकुवामा मात्रै क्यान भने रोकिएन्, उनलाई अमेरिका खेल्न पठाउने विषयमा समेत उत्साहित देखियो । क्यानले सन्दीपलाई आफ्नै खर्चमा भएपनि अमेरिका पठाउने तयारी तीब्र पारिरहेको छ । 

अदालतको फैसलामा प्रश्न र आक्रोश

उच्च अदालतले सन्दीपलाई सफाई दिदा नाबालिक नभएको र प्रमाण नपुगेको आधार लिएको बताइएको छ । 

फैसलाको पूर्णपाठ नआई धेरै कुरा थाहा नहुने भएकाले अदालतले लिएका आधारहरु के छन त्यो पछि नै थाहा होला तर, गौशाला २६ माथि अन्याय भएको भन्दै सडकमा विरोध प्रदर्शन हुन थालेको छ ।

सन्दीपलाई सफाई दिने दिन सन्दीपका समर्थकको भीड जस्तो गौशाला २६ को पक्षमा भीड नदेखिएपनि सांकेतिक रुपमै भएपनि विरोध भने हुन थालेका छन् । 

अदालतले सन्दीपलाई सफाई दिने आधार कस्ता टेकेको छ भन्ने विषय सार्वजनिक भएपछि यो विषयमा थप चर्चा हुनेमा कुनै शंका छैन् । 

सन्दीपमाथिका प्रश्न

सन्दीपले बलात्कार आरोप लाग्ने दिन नगरकोटदेखि सिनामंगलको होटलमा रात विताएको पुष्टी भइसकेको छ । होटलमा रातभर कुर्सीमा बसेको भन्दै सन्दीपले बयान दिएपनि जिल्ला अदालतले आर्थिक र स्टारडमको दूरुपयोग गरेको भन्दै दोषी करार गरिदिएको थियो । 

जुन कुरा उच्चले उल्ट्याएको छ । तर, सन्दीपमाथि केहि प्रश्नहरु भने पक्कै गम्भीर रुपले उठेको देखिन्छ । 

क्यानको क्लोज क्याम्पमा रहेको खेलाडी जो आफै कप्तान छ, उ त्यसरी दिनभर हराउन पाउँछ कि पाउँदैन ? क्लोज क्याम्पमा रहेको खेलाडी फ्यानलाई दिनभर गाडीमा राखेर निफिक्रि डुल्न हुन्छ वा हुँदैन ? यस्ता तमाम प्रश्नहरु छन् । 

जुन उच्च अदालतको फैसलाको पूर्णपाठले बोलेन भने नैतिकता र खेल अनुशासनको विषय सधै छाँयामा पर्ने र अदालतको विश्वासमाथि प्रश्न उठिरहने देखिन्छ । 

क्यानमाथिका प्रश्न

क्यानले बलात्कार आरोपमा मुद्दा विचाराधिन हुँदै मैदानमा सन्दीपलाई उतारेको विषयदेखि अदालतको फैसला आउदा नआउदै निलम्बन फुकुवा गर्ने र अमेरिका पठाउने निर्णय जसरी ग¥यो त्यो नै आश्चार्यको विषय बन्न पुगेको छ । 

सन्दीपलाई उनका वकिलहरुले नै मानसिक रुपमा विक्षिप्त छन भनिरहेको बेला उनलाई मैदानमा पठाउने निर्णय र लामो समय मैदानबाहिर रहेको खेलाडीमाथि क्यानले देखाएको सदासयता किन र के का लागि ? यो अहम प्रश्न बन्न पुगेको छ । तर, सन्दीपलाई खेलमा फर्काउने र उनको खेल कौशल कसरी पेश हुन्छ भन्ने विषयले धेरै कुराको निर्धारण गर्नेछ । 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update