News 24 Television
स्थानीय सरकारको समेत पत्तोमा नरहेका ११ गाउँहरु 

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नं १ र ४ मा पर्ने ११ गाउँ एकदमै विकट छन् । भारतीय सीमानाकासँगै जोडिएका यी गाउँहरु भरखरै स्थानीय सरकारको सम्पर्कमा आएका छन् । स्थानीय सरकारको सम्पर्कमा समेत भरखरै आएका गाउँहरु शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र बाटो जस्ता आधारभूत सुविधाबाट पनि बञ्चित छन् । 

भरखर भरखर पत्ता लागेका गाउँहरुप्रति राज्यले रेखदेख गर्नुका साथै केही चासो देखाउन थालेको छ । नेपाल भारतको सिमानासँग जोडिएको बाँकेको राप्तीसोनारी गाउँपालिकाको ११ गाउँ राज्यबाट लामो समय उपेक्षित रह्यो । 

स्थानीय सरकारको समेत सम्पर्कमा नरहेका गाउँहरुमा राज्यले प्रदान गर्ने सुविधा हुने कुरै भएन । त्यसैले पनि यहाँ शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता आधारभूत सेवा सुविधा समेत छैन । यहाँका स्थानीयको मुख्य पेशा कृषि हो । 

सेवा सुविधा केही पनि नभएकै कारण स्थानीयले आफ्ना बालबालिकालाई शिक्षाका लागि नजिकैको पालिका वा नजिकैको शहर नेपालगञ्ज पठाउने गरेका छन् । त्यही भएर पनि गाउँमा ३ वर्षमाथिका बालबालिका देख्न समेत मुस्किल हुन्छ । लामो समय राज्यबाट उपेक्षामा परेको भन्दै स्थानीय गुनासो गर्छन् ।  

भारतीय नाकासंगै जोडिएका झुरहवा बस्तीमा राती काठ, ढुङगा, गिट्टी, बालुवा पनि तस्कर हुने गरेको छ । सिमानाका र मानव वस्ती भएपनि पनि सुरक्षाका लागि राज्यको कतैपनि उपस्थिति छैन । गाउलेहरु एक गाउँबाट अर्को गाउँमा आपतविपतमा वाकीटकी प्रयोग गर्छन् ।   

दिनदहाडै आउने भारतीय तस्करले यहाँबाट काठ, ढुंगा, बालुवा निर्धक्क तस्कर गर्छन् । आफ्नो क्षेत्रको प्राकृतिक सम्पदा तस्करी हुँदा प्रतिवाद गरौँ भन्ने स्थानीयमा हुन्छ । तर हातहतियार सहित आउने तस्करसँग स्थानीय जुध्न सकिरहेका छैनन् । 

नजिकै नेपाल प्रहरी र शसस्त्र प्रहरी भइदिए सुरक्षित महशुष गर्न सक्ने स्थानीयको भनाइ छ । स्थानीय सरकारको सम्पर्कमा भरखरै आएको यी गाउँको बारेमा राप्ती सोनारी गाउँपालिकाले चासो देखाएको छ । 

अब गाउँमा विस्तारै सेवा सुविधा थप्ने योजना पालिकाको रहेको छ । गाउँहरुमा पालिकाले केही ठाउँमा खानेपानीको धारा समेत जोडिसकेको छ । तर राज्यले लामो समय उपेक्षामा परेका यी गाउँहरुमा फास्ट ट्रयाकमार्फत् शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, बाटोको प्रदान गर्नु जरुरी छ ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update