News 24 Television
कैदीबन्दीले बनाएका सामानलाई बजारको अभाव

रुपन्देही । भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दीले उत्पादन गरेका फर्निचर लगायतका समानलाई बजारीकरणको समस्या भएको छ । 

कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका लाखौं रुपैयाँ मूल्यका फर्निचनर र मुढा बिक्री नहुँदा गोदाममा थन्किएका छन् । अन्यत्र बनाइएका भन्दा कारगारमा उत्पादिन ती सामाग्री सस्तो परे पनि बजारीकरणमा कसैको ध्यान नजाँदा लामो समयदेखि गोदाममै थन्किएको हो । 

यी हुन्, जिल्ला कारागार रुपन्देहीमा रहेका कैदीबन्दीले तयार गरेका हस्तकलाका सामग्रीहरु । कारागारमा रहेका कैदीबन्दीले आफ्नो सीपको सदुपयोग गर्दै पलङ, डाइनिङ टेबल, दराज, बस्ने मुढा लगायतका फर्निचर र घरायसी सामाग्री बनाउँदै आएका छन् । यी सामाग्री विक्री गरेर उनीहरुको आफ्नौ दैनिकीसँगै घर खर्च समेत चल्ने गरेको छ । 

कतिपय कैदीबन्दीले कारागारभित्रै गरेको परिश्रमबाट भएको आम्दानी घर नपठाए छोराछोरीको पठनपाठन र बृद्ध बुवाआमाको औषधि उपचार नै ठप्प हुन्छ । तर, पछिल्लो चार पाँच महिना यता कैदीबन्दीले उत्पादन गरेका मुढा लगायतका फर्निचर सामाग्री विक्री हुन छाडेको छ ।

अहिले कारागार भित्रै रहेको गोदाममा करिब १४ लाख रुपैयाँ बराबरको फर्निचर र मुढा थन्किएका छन् ।  सीप जानेका कैदीबन्दीहरुलाई कारागारका नाइके, चौकीदार र सहनाइके कैदीबन्दीहरुले आफ्नो लगानीमा बाहिरबाट कच्चा पदार्थ उपलब्ध गराई मुढा लगायतका फर्निचर बनाउन लगाउँछन् ।

उत्पादित सामाग्रीलाई उनीहरुले नै स्थानीय व्यापारीसँग सम्पर्क गरेर बिक्री गर्ने गर्छन् । कारागारमा यसरी घरेलु उद्योग संचालन हुँदा कैदीबन्दीहरुलाई अतिरिक्त कमाईको अवसर मिलेको हो । तर, लामो समय उत्पादित सामग्री विक्री नहुँदा आफ्नो र घर खर्च चलाउन समस्या त भएको छ नै लगानी डुब्छ की भन्ने चिन्ता पनि उनीहरुमा देखिन्छ । 

कैदीबन्दीले उत्पादन गरेको मुढाको बजारीकरण गर्न न सरकारले चासो दिएको छ, न त अन्य संघसंस्थाले । कारागार प्रशासनले आफूहरुलाई विक्रीवितरणको अधिकार नभए पनि सहजीकरण गरिरहेको बताउने गरेको छ । 

यहाँ उत्पादित सामाग्री बजारमा भन्दा करिब १५ प्रतिशत सस्तो पर्छ । सरकारीस्तरबाट कारागारमा रहेका कैदीबन्दीलाई गुजारा चलाउनका लागि दिने दैनिक ७ सय ग्राम चामल र ८० रुपैयाँ नगद हो ।

यसबाट उनीहरुले साँझबिहानको खानानास्ता, लगायतका दैनिक उपभोग्य बस्तुको आवश्यकता पुरा गर्न नै अपुग हुन्छ । कारागार भित्र बस्दा सीपअनुसार काम, ज्याला र अतिरिक्त कमाईको अवसर पाएपछि उनीहरुलाई घरखर्च चलाउन पनि सहज भएको हो । तर, बजारीकरणमा समस्या हुँदा कैदीबन्दीले उत्पादन गरेका सामग्रीहरु गोदाममै थन्किएका छन् ।

त्यसैले सरकारले कैदीबन्दीहरुले उत्पादन गरेको सामानको बजारीकरणका लागि ठोस योजनासहित पहल गर्न सके आम्दानी बृद्धि, बन्दी जीवनमा आउने नैराश्यतामा कमी आउनुका साथै भोलिका दिनमा जेलमुक्त भएपछि समाजमा स्थापित बन्न र दक्ष श्रमिक बन्न सक्थे की ! 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update