News 24 Television
विद्यार्थी महोत्सव : टपरीदेखि रोबोटसम्म प्रदर्शन

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थीहरुको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्यार्थी महोत्सवको अयोजना गरी विद्यार्थी राजनीतिलाई ढुङ्गामुडाबाट टाढा रहेको संकेत दिएको छ । जेठ १ गतेदेखि आयोजना भएको उक्त महोत्सवमा १ सय ५० भन्दा बढी शैक्षिक स्टलहरु थिए । टपरीदेखि रोर्बटसम्मका स्टलहरूमा पुगेर तयार पारिएको यो रिपोर्ट हेरौं ।  

कोही रोर्बट हेर्दै छन् त कोही टपरी बनाउँदै छन् । अझै कोही मोही पार्दै छन् भने कोही गीत गाउँदै छन् । कोही विभिन्न गेम हेरेर आनन्द लिईरहेका छन् । सबै कतै न कतै व्यस्त देखिन्छन् । सबै स्टलहरुमा विद्यार्थी नै देखिन्छन् । कोही स्वाथ्य सम्बन्धि परामर्स लिई रहेका त कोही करियर सम्बन्धि । यस्तै थियोे विहीबार दिनभर काठमाडौंस्थित भृकुटीमण्डपको दृश्य ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको आयोजनामा भएको विद्यार्थी महोत्सवले विद्यार्थी आन्दोलनको वास्तविक दिशा निर्देश गरेजस्तो देखिन्थ्यो । विगतमा ढुङ्गामुडा, चक्का जाम गर्नेदेखि सडकमा मसाल जुलुस निकाल्न अग्रभागमा देखिने पार्टीका विद्यार्थी संगठनले रचनात्मक शैली अपनाएर डिजिटल र विकसित युगमा आफु पनि परिवर्तन हुनुपर्छ भन्ने सन्देश दिएको छ । 

क्याम्पसमा तालाबन्दी, प्राध्यापक र विद्यार्थीबीच हुने द्वन्द्वबाट विद्यार्थी राजनीतिलाई मोडेर युग सुहाउदो राजनीतिमा आफुलाई परिवर्तन गर्न सक्नु पर्छ भन्ने उद्देश्यलाई महोत्सस भित्र भएको क्रियाकलापले पुष्टि पनि गरेको छ । यवाहरूको आकर्षण विदेश बनिरहेका बेला देशमा भएका सम्भावनालाई महोत्सवले उजागर गरेको विश्वास आयोजकको छ । 

विश्वभर विज्ञान तथा प्रविधिले फड्को मार्दा विश्वविद्यालयको पाठ्यक्रम र राज्यको नीति त्यही अनुसार परिवर्तन गर्नुको विकल्प छैन । विद्यार्थी महोत्सवले विश्वविद्यालयलाई नयाँ शिराबाट सोंच्न बाध्य पार्नेछ । विभिन्न विद्यार्थीहरूको प्रतिभाले रंगिएको महोत्सवले अन्य विद्यार्थीहरूले पनि ऊर्जा पाएका छन् । नेपालमा भएका सम्भावनाहरूको उजागर गर्दै विद्यार्थीहरूमा भएको निराशालाई चिर्दै आकर्षण जगाउन राज्यका तर्फबाट पहल हुन आवश्यक छ । 

तीन दिनको महोत्सवमा करिव एकलाख विद्यार्थीहरूले अवलोकन गरेका छन् । शिक्षालाई रोजगारी र सीपसँग जोड्दै शिक्षा, उद्यमशीलता विकास, नवीन प्रविधिको प्रयोग र व्यावहारिक शिक्षालाई प्रवद्र्धन गर्दै विद्यार्थी आन्दोलनले नयाँ दिशा पाएको दाबी आयोजकको छ । 

वर्तमान अवश्यकता ‘भविष्यलाई आकार दिने, दिमागलाई सशक्त बनाउने’ नै हो । समग्रमा विद्यार्थी महोत्सवले विद्यार्थीको रुची, प्रतिभासँगै अबको देशको भविष्यको पनि खाका तयार पारेको छ । विदेश विद्यार्थीको रोजाईमा परिरहेका बेला राज्यको लगानीमा यस्ता महोत्सव आयोजना गरि देशभित्रका सम्भावनाहरूको उजागर गर्न आवश्यक छ । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update