News 24 Television
झण्डै २ वर्षे कालारात पार गरे सन्दीपले, सफाइपछि क्रिकेटमै फर्किँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान रहेकै अवस्थामा सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लाग्यो । २०७९ भदौ २१ गते सन्दीपविरुद्ध पीडित भनिएकी युवतीले गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएको समय सन्दीप क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्टइन्डिज गएका थिए । तर उक्त घटना सन्दीप उढ्नु भन्दा केही हप्ताअघि भदौ ५ गते नै भएको युवतीले दावी गरेकी थिइन् । 

युवतीले सामाजिक सञ्जालमार्फत चिनजान भएको र भेट्न बोलाएर आफूलाई होटलमा लगि जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । 

होटल लानुअघि आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाँउसहित नगरकोटसम्म घुमाएको उजुरीमा उल्लेख गरेकी थिइन् । 

उजुरीपछि प्रहरीले उनीहरु बसेको होटलबाट सिसिटिभी फुटेज संकलन गरेका थियो । उक्त सीसी टिभी फुटेजमा सन्दीप र पीडित भनिएकी युवती करिब ७ घण्टा बसेको देखिएको दावी गरिएको थियो । 

यही मुद्धामा गत पुषमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्ष कैद र पीडितलाई ५ लाख क्षतिपूर्ती भराउनुपर्ने फैसला सुनायो । 

तर जिल्ला अदालतको फैसलालाई त्रुटिपूर्ण भनेका सन्दीपले गत फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिए । त्यसअघि जिल्ला अदालतले सन्दीपलाई पुपक्र्षका लागि थुनामासमेत पठाएको थियो । 

सन्दीप ३ महिनाभन्दा बढी केन्द्रीय कारागारमा पनि बसे  । तर, उच्च अदालत पाटनले २०७९ पुस २९ गते २० लाख धरौटीमा छाड्न आदेश दियो । त्यसपछि थुना बाहिरै रहेरका सन्दीपलाई बुधबार पुनरावेदनको मुद्धामा उच्च अदालत पाटनले सफाइ दिएको हो ।  

सन्दीपले यसअघि आफूलाई निराधार आरोपहरु लगाएर दोषी करार गरिएको दावी गर्दै आएका थिए । सफाइ पाएपछि उनले जिल्ला र उच्च दुवै अदालको फैसलालाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । 

अदालतमा मुद्धा चलिरहेका बेला पनि सन्दीपलाई योजनाबद्ध तरिकाले फसाइएको चर्चा भएको थियो । 

क्रिकेट क्षेत्रमा छोटो समयमै लोकप्रिय बनेका सन्दीपले विशिष्ट प्रदर्शन गर्दै आएका थिए । तर यही बखत उनीमाथि बलात्कारको मुद्धा लागेको थियो । 

सन्दीपको पक्षमा बहस गरेका अधिवक्ताहरु

यदी जिल्ला अदालतको फैसलालाई नै मनन गरिएको भए सन्दीपले उल्लेखित ८ वर्ष जेल सजाय र ५ लाख क्षतिपूर्ती बुझाउनु पर्ने हुन्थ्यो । तर सन्दीप र उनको अधिवक्ताहरुले यसलाई मनन गरेनन् । फलतः मुद्धा पुरावेदनसहित उच्च अदालत पाटन पुग्यो । 

जिल्ला अदालतले नै पीडित भनिएकी युवतीलाई १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै उक्त फैसला सुनाएको थियो । तर युवतीले भने उजुरी दिँदा आफू नावालिग भएको दावी पेश गरेकी थिइन् । 

यसकारण सहमती विनै सम्बन्ध राखेको लगायतका तर्कलाई लिएर जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेको थियो । तर उक्त फैसलाई सन्दीपको पक्षमा वकालत गर्ने अधिवक्ताहरुले उल्ट्याउन मद्दत गरेका छन् । 

यो मुद्धामा सन्दीपको पक्षबाट आधादर्जन बढी अधिवक्ताहरुले बहस गरेका थिए । जसमा पछिल्लो समय वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका थिए । उच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला विडारीलाई सन्दीपले नै टिममा ‘हायर’ गरेको बुभिएको छ । 

यसअघि जिल्ला अदालतमा सन्दीपको पक्षबाट पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । 

त्यस्तैगरी अन्य वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, मुरारी सापकोटा र सविता भण्डारीले पनि सन्दीपको पक्षमा बहस गरेका थिए । 

उनीहरुको संयोजन भने अधिवक्ता सरोज घिमिरेले गर्दै आएका थिए । खासगरी उच्चमा पनि जिल्ला अदालतमै बहस गर्ने अधिवक्ताहरुलाई नै निरन्तरता दिइएको थियो । तर सन्दीपकै चाहना अनुसार रामनारायण विडारीलाई पनि पछि टिममा ल्याइएको हो । 

उनी टिममा भित्रिएपछि सन्दीपको पक्ष थप बलियो भएको दावी गरिएको थियो । अन्ततः यही टिमले सन्दीपलाई न्याय दिलाएको हो । 

फैसला हुनुअघि मुद्धाको पेसी पटक–पटक सरेको थियो । यद्यपि बुधबार उच्च अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई सफाइ दिनेगरी फैसला सुनाएको हो । 

यो सँगै सन्दीपलाई दोषी करार गर्ने जिल्ला अदालतको फैसला उल्टिएको छ ।  साथै नेपाल क्रिकेट संघ क्यानले पनि सन्दीपको निलम्बन फुकुवा गरेको छ । अब सन्दीपले घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल खेल्न पाउनेछन् । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update