News 24 Television
करिब ८ करोड रुपैयाँको कोकिनसहित ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिन २ केजी ६५४ ग्रामसहित ३ जना कोकिनका अन्तर्राष्ट्रिय कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

पक्राउ गरिएका सबै अन्तर्राष्ट्रिय गिरोहका सदस्य भएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले पक्राउ पर्नेमा युगाण्डाकी ४४ वर्षीया केभिना मुगाला, युगाण्डाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षी दिवा जनी पल रहेको बताए ।

उनका अनुसार केभिनाले निलेका ९० वटा कोकिनका क्याप्सुल नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट उपचार पद्धतिबाट निकालिएको छ । पेटभित्रबाट निकालिएका क्याप्सुलको तौल १ किलो २६० ग्राम रहेको छ । जेठ २ गते धोबिचौरबाट पक्राउ परेका वानयाङजीको साथबाट १ किलो ३९४ ग्राम कोकिन फेला परेको छ । उनले पल भने १ किलो ३९४ ग्राम कोकिन किन्न धोबीचौर पुगेको बेलामा पक्राउ गरिएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक थपलियाले बरामद गरिएको अवैध लागुऔषध कोकिन २ के.जी. ६५४ ग्रामको बजारमूल्य ७ करोड ९६ लाख रहेको बताए । निजहरुउपर लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update