काठमाडौं । सत्तारुढ दलहरुमा छाएको चिसोपनाको असर पछिल्लो समय व्यवहारतः देखिन थालेका छन् । खासगरी नयाँ समीकरणपछि बनेको सत्ता साझेदार दलहरु तानातानमा परे ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकस्वर हुँदा गठबन्धनका अर्का सहयात्री दलहरु जनता समाजवादी पार्टी (जसपा) र नेकपा एस सत्तामै रहेपनि अलमलमा परेका थिए । यही अवस्थामा जसपा विभाजित भयो ।
सरकार ढाल्ने र जोगाउने पक्ष विपक्षमा मत विभाजित हुँदा अशोक राईले पार्टी विभाजन गरेर जनता (समाजवादी पार्टी) दर्ता गराए । र, उपेन्द्र यादवको जसपा नेपाल दल नै कायम भएको छ । त्यसपछि नैतिक दवाबमा परेका उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनमा दिएका छन् ।
नेकपा एस र जसपालाई प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो कित्तामा तान्न सकेसम्मको बल प्रयोग थियो । दुवै दल काँग्रेसको लालचमा पर्दा सत्तारुढ दलहरुले चिसोपना छाइरहेको थियो ।
त्यसैको परिणामस्वरुप जसपा विभाजनदेखि उपेन्द्रसको सत्ता बहिर्गमन भएको हो । यसको असर अहिले मधेश प्रदेशमा समेत परेको छ ।
यता केन्द्र सरकारबाट उपेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको दवाबमा सरकार छाडेका हुन् । यसअघि आइतबार एमाले र माओवादी केन्द्रका मन्त्रीहरु उपेन्द्र पक्षकै मुख्यमन्त्री रहेको मधेश सरकारबाट बाहिरिएका थिए ।
त्यसपछि मधेशका मुख्यमन्त्री शरोजकुमार यादव अल्पमतमा परिसकेका छन् । यीनै राजनीतिक परिदृष्यले उपेन्द्र पनि राजीनामाको नैतिक दवावमा पुगेका हुन् ।
त्यस्तै सत्तामा किचलो गरिरहेका नेकपा एसको पनि सत्ता यात्रा लामो देखिँदैन । नेकपा एसले सुदुरपश्चिममा मुख्यमन्त्री हात पारेको छ । तर नेकपा एसबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीलाई एमालेले विश्वासको मत दिने मनशाय बनाएको छैन ।
यदी एमालेले सोडारीलाई विश्वासको मत नदिए नेकपा एसले काँग्रेसको साथ लिने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने रणनीति बुनेको छ ।
काँग्रेससँग साँठगाँठ गरेको कारण नेकपा एमाले र नेकपा एसबीच पनि यतिबेला टकराब चलिरहेको छ । प्रधानमन्त्री बन्न विभिन्न उपाय रचिरहेका माधवले एमाले अध्यक्ष केपी ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन् ।
उता एमाले अध्यक्ष ओली पनि नेकपा एस राजनीति भन्दा व्यक्तिगत फाइदाका लागि हिँडिरहेको बुझाइमा छन् । पदका लागि जे पनि गर्ने र राजनीतिक अस्थिरता ल्याउन माधवले काँग्रेससँग कुम जोडिरहेको आरोप लगाइरहेका छन् ।
यो अर्थमा नेकपा एकीकृत समाजवादीको सत्ता यात्रामा पनि चाँडै ब्रेक नलाग्ला भन्ने अवस्था छैन । उसले यसअघि पनि जसपासँग मिलेर गठबन्धन टुटाएर बैकल्पिक गठबन्धन बनाउन धेरै प्रयास गरेको थियो । तर यसको असरस्वरुप जसपा विभाजित भयो ।
यो विभाजनसँगै नेकपा एस पनि विभाजन हुने संभावना टरेको दावी गरिँदै आएको छ । यद्यपि माधव नेपालको प्रधानमन्त्री बन्ने जिद्धी र अर्का नेता झलनाथ खनालको एमाले प्रतिकै झुकावले नेकपा एसमै विमत्ति छाएको प्रष्ट छ ।
यसले नेकपा एस सरकारबाट बाहिरिने वा विभाजित हुने अवस्थाको पनि संकेत गरिरहेको छ । एमाले–माओवादीसँग सम्बन्ध सुधुर हुन नसक्दा नेकपा एसभित्र पार्टी नेतृत्वलाई गठबन्धन छाड्नसमेत दवाव बढिरहेको छ ।
त्यस्तै महाधिवेशनको सम्मुखमा रहेको नेकपा एसका अध्यक्ष माधव नेपालले एमालेलाई दक्षिणपन्थी अवसरवादी पार्टी भनेका छन् । त्यस्तै माओवादी केन्द्रलाई नीतिगत अस्थिर दलको रुपमा परिभाषित गरेका छन् । यी दस्तावेज र बुझाइले पनि नेकपा एस र गठबन्धनबीच तारतम्य मिलेको देखिँदैन ।
बैकल्पिक गठबन्धन बनाउन कस्सिएका दुई दलमध्ये उपेन्द्र सत्ताबाट बहिर्गमित बनेका छन् । यही बेमेलता र स्वभाव रहे सत्ताबाट माधव नेपाल पनि बाहिरिनु नपर्ला भन्ने अवस्था छैन । यो अवस्थामा सरकार तत्काल नढले पनि थप कमजोर बन्ने निश्चित छ । त्यसपछि सत्ता राजनीतिको नयाँ कोर्ष सुरु नहोला भन्ने अवस्था छैन ।