News 24 Television
करोडौंको सेटिङमा मच्चाइएको ठगी, कनेक्सन कता-कता ? 

काठमाडौँ । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धानले निरन्तरता पाए पनि हालसम्म पनि खास प्रगति भएको छैन । यद्यपि, सार्वजनिक जग्गामा पहुँचको भरमा मनपरि गर्दै अर्बौं रकम कुम्ल्याउनेहरु विरुद्ध पक्राउ पूर्जी जारी भएपश्चात खोजी कार्य अघि बढेको बताइएको छ । 

प्रहरी अनुसन्धानले तीव्रता पाउने विषयमा आशंकाहरु पनि गरिएका छन् । अनुसन्धानको पाटो त छदैछ । तर, रोपनीका रोपनी सार्वजनिक जग्गामाथि कसरी भयो त यति ठुलो सेटिङ ? कहिले के–के भयो बालमन्दिरको जग्गामा ? 

काठमाडौंको नक्सालमा रहेको बालमन्दिरको जग्गा हिनामिना प्रकरणमाथिको अनुसन्धानले अहिले नै नतिजा नदिए पनि गति पाउने अपेक्षा छ । यद्दपी, सीआईबीले तत्काल परिणाममुखी एक्सन लिने मुड नदेखाएको भनि विश्लेषण पनि भइरहेका छन् । तर, जग्गा ठगी तथा हिनामिना गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गएको विहीबार जाहेरी परेसँगै आरोपीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । 

नेपाल बाल संगठनले जाहेरी दिएपश्चात बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेको हो । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी रीता वैद्यसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । जाहेरीमा तत्कालीन पदाधिकारी तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा जग्गा ठगी तथा हिनामिना गरेको आरोप छ । यो जाहेरी ठगी सम्बन्धि कसुरमा दिइएको  छ । 

कसरी र कहिले भयो हिनामिना ?

– २०४९ सालबाट बालमन्दिरको जग्गा भाडामा लगाउने नाममा हिनामिनाको क्रम शुरु

– नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी, शक्ति केन्द्र र स्वार्थ समूहको योजनामा २९ रोपनी ४ आना जग्गा बृहस्पति विद्यासदनलाई २१३१ सालसम्मका लागि लिजमा दिने गरी २०७२ सालमा सम्झौता भएको थियो ।

– जग्गा हिनामिनाको विषय बाहिरिएपछि गत साता नेपाल बाल संगठनले आन्तरिक छानविन ग¥यो 

– आन्तरिक छानविन र विगतका अध्ययन प्रतिवेदनका आधरमा बृहस्पति विद्या सदनसँग वि.सं २१३१ सम्म लिजमा दिनेगरी भएको सम्झौता समेत रद्द गरिसकिएको छ ।

– २०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा रीता सिंह वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गामा बृहस्पतिले रजगज 

– पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्ष (विसं २१३१ सम्म) का लागि बाल मन्दिरको जग्गा सुम्पिइन् ।

– बृहस्पतिलाई जग्गा लिजमा दिएवापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता 

– बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय वोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सव लिज दिएर वार्षिक ६० लाख असुली धन्दा चल्यो  

– २०४८ को आम निर्वाचनपछि बनेको सरकारद्धारा रीता सिंह वैद्यलाई संगठनको अध्यक्ष नियुक्ति 

– वैद्य नेपाल बाल संगठनमा सामेल भएसँगै बृहस्पति विद्या सदन पनि बाल मन्दिरमा भित्रिएको थियो ।

यो सबै हेर्दा २०४९ सालबाट जग्गा भाडामा लगाउने नाममा नेपाल बाल संगठनको नेतृत्वसहितको मिलेमतोमा जग्गा हिनामिनाको क्रम सुरु भएको देखिन्छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update