News 24 Television
प्रचण्डमाथि नै प्रश्न उठाउँदै रवि, जिबीबारे अघिल्लो सरकारलाई अपजस

काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेलाई विभिन्न तथ्य र प्रमाणहरुले पनि घेरिरहेको छ । 

प्रहरी प्रतिवेदनले रुपन्देहीको सुप्रिम सहकारीबाट रविको नाममा झण्डै २ करोड रकम आएको देखाएको थियो । त्यस्तै केही दिन अघि मात्रै पोखरा महानगरपालिकाले प्रहरीमा बुझाएको प्रतिवेदनमा पनि सुर्य दर्शन सहकारीबाट रविका नाममा रकम गएको उल्लेख गरेको छ । 

यी दुवै सहकारीका स्वामित्तोकर्ता गितेन्द्र बाबु अर्थात जिबी राई नै हुन् । र, सहकारी ठगीको आतंक मच्चाउने मुख्य नाइके पनि उनै जिबी राई हुन् । 

नेपाल प्रहरीले पनि सहकारी प्रकरणमा उब्जिएको समस्याको प्रमुख कारक जिबि राई नै भएको निष्कर्ष निकालिसकेको छ । तर राईलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । 

प्रहरीले जिबी राई मलेशियामै लुकेर बसेको दावी पनि गर्दै आइरहेको छ । यस विषयमा प्रहरीले इन्टर पोललाई जानकारी दिइसकेको छ । साथै नेपाल प्रहरीले पनि जिबी पक्राउ गर्न सबै जुक्ति लगाइरहेको छ । यद्यपि जिबी पक्राउ पर्न सकेका छैनन् । 

यसले सहकारी ठगी प्रकरणमा मुछिएका रविलाई अझ शंकाको घेरामा पारेको छ । तर रविले भने जिबी समात्न अझै विभिन्न प्रयासहरु भइरहेको दावी गरिरहेका छन् । 

उनले यसअघि कुनै पनि हालतमा जिबीलाई पक्राउ गर्ने उद्घोष गरेका थिए । तर हप्तौँ वितिसक्दा पनि रविले यो विषयमा नतिजा दिन सकेका छैनन् । 

केही दिन अघि उनले मलेशियाका गृहमन्त्रीसँग टेलिफोन संवाद गरेको खुलेको थियो । तर त्यहाँ जिबी पक्राउ गर्ने सम्बन्धमा छलफल भएको तथ्य बाहिरिएको छैन । 

यसलाई गोपनियताको विषय बनाएर रविले सूचना सार्वजनिक नगरिएको दावी गरिरहेका छन् । तरपनि सहकारी पीडित र जनस्तरबाट भने जिबी खोइ ? भन्दै रविमाथि प्रश्न उठिरहेको छ । 

तर यो अवस्थामा गृहमन्त्री रविले भने विषयान्तर गर्न थालेका छन् । आम जनताको प्रश्नमा रविले अघिल्लो सरकारले नै भगाएको भन्दै पक्राउ गर्न नसकिएको दावी गर्न थालेका छन् । जबकी रवि अहिले उही अघिल्लो गठबन्धनकै नेतृत्वकर्ता प्रचण्ड सरकारमा गृहमन्त्री छन् । रविले आशायगत रुपमा अघिल्लो गठबन्धन सरकारले जिबीलाई भगाएको दावी गरेर काँग्रेसलाई काउन्टर दिन खोजेको देखिन्छ । तर रविको यो जवाफ प्रतिजवाफका रुपमा आँफै तिर प्रश्न नबनेर फर्किएको छ । 

रविको अभिव्यक्तिलाई सत्ताकै नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डप्रति प्रश्न गरेको भाष्य स्थापित भएको देखिन्छ । जसलाई नेपाली काँग्रेसले पनि ‘पावर प्वाइन्ट’ बनाएर सरकारलाई अफ्ठ्यारो पार्ने थप विन्दू बनाइसकेको छ ।

आफू गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर कामको प्रतिफल नदिएको विषयमा प्रश्न उठ्दा अरुलाई नै दोष देखाउनु खोज्ने रवि शैली उचित मान्न नसकिने तर्कहरु आइरहेका छन् । 

यसले सरकार र वर्तमान गठबन्धनको औचित्यमाथि नै रविले प्रश्न उठाउन खोजेको भाष्य निर्माण हुन खोजेको छ । तर जे होस् अहिलेको अवस्थामा लागेका गम्भीर आरोप र केही प्रमाणले शंकाको सुइरो रवितिरै घुमेको छ । 

यो अवस्थामा गृहमन्त्री रविले विषयान्त गरेर अन्यलाई दोषारोपण गर्नु भन्दा समस्याको मुल कारक जिबीलाई हर हालत पक्राउ गरेर कारवाही गराउनु नै उत्तम हुनेछ । 

यो कदम सफल भए सहकारी पीडितलाई न्याय मिल्नेछ भने रवि आँफैको राजनीतिक भविष्यसमेत उज्वल हुनेछ । 

यसमा अन्य सत्तारुढ दलहरुले पनि सत्ताकै लागि सहकारी समस्याको विषयलाई ठोष निष्कर्ष दिनबाट रोक्न अनावश्यक र अनुचित नीति लिनु हानिकारक हुनेछ । 
तसर्थ दलहरुले हरेक समस्याहरुलाई नजरन्दाज गरेर सत्ता स्वार्थका लागि जे पनि गर्ने नीतिलाई त्यागेर स्वच्छ राजनीतिक संस्कार स्थापित गर्नपर्छ ।

यसले जनता, मुलुक र दलहरुकै सर्वपक्षिय हित गर्ने देखिन्छ । तर दल र दलका पात्रहरुले जनताको हितलाई  केन्द्रमा नराखी आफ्नो निहित स्वार्थमा सत्ता र शक्तिको मात्रै पछि लागे मुलुकको लागि यो भन्दा ठूलो दुर्दशा अरु केही हुन सक्दैन ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update